काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । ट्राफिक प्रहरीको उक्त कार्य कानुन सम्मत नभएको भन्दै कानुनका विद्यार्थी विवेक चौधरीले रिट दायर गरेका हुन् ।
बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्याउने रिटमा दाबी गरिएको छ ।
रिटमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको र दफा १६० मा दण्ड सजायको प्रावधान रहेको उल्लेख गर्दै तर ट्राफिकले सुरुमै चाबी खोस्ने अभ्यास गरेकाले रोक लगाउन रिटमा माग गरिएको छ । ऐनको दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार दिएको तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेकोले उक्त कार्य गैरकानुनी हुने रिटमा दाबी गरिएको छ ।
नेपालको संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकको ग्योन्टि गरेको छ तर ट्राफिकको यस्तो कार्यले यो हकको हनन हुने रिटमा उल्लेख गरिएको छ ।