काठमाडौं । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीमाथि अख्तियारले छानबिन थालेको उल्लेख छ ।
बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको छ । सबै उजुरीमाथि एकसाथ अनुसन्धान भइरहेको आयोगको उच्च स्रोतले जानकारी दिएको छ ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । मेयर भएपछि बस्नेतले नागार्जुन नगरपालिका ५ स्थित सीता होम कोलोनीमा करिब १० करोड रुपैयाँ मूल्य बराबरको निजी निवास निर्माण सम्पन्न गरेको र वाफलस्थित चक्रपथमा ५० करोड रुपैयाँ बराबरको भवन सपिङ मलका लागि निर्माण गरिरहेको उजुरी आयोगमा परेको छ ।
बस्नेतले गैर कानुनी आर्जन गरी सम्पत्ति जोडेको उजुरीमा उल्लेख छ । बस्नेतले एक बैकबाट २० करोड रुपैयाँ ऋण लिएर सपिङ मलका लागि भवन निर्माण भइरहेको दाबी गर्दै आफूलाई बित्थामा आरोप लगाइएको बताए ।
आयोगमा परेको उजुरीमा बस्नेतले आर्जन गरेको गैर कानुनी सम्पत्तिबाट ५ करोड रुपैयाँको प्राडो गाडी किनेको आरोप पनि लगाइएको छ । बस्नेत भने प्रभु बैकबाट ऋण लिएर गाडी खरिद गरेको र अहिले पनि किस्ता तिरिरहेको दाबी गर्छन् ।
बस्नेत विरुद्ध परेको अर्को उजुरीमा आर्थिक लाभ लिएर पद्य कोलोनी निर्माणको स्वीकृति दिँदा सरकारी जग्गा मिच्न सहयोगी बनेको उल्लेख छ । नागार्जुन नगरपालिका–५ र ६ स्थित विशाल आवास योजना ९पद्म कोलोनी०को फेज वान, टु र थ्रीको निर्माणका क्रममा बस्नेतले त्यस्तो गरेको आरोप छ ।
बस्नेत चाहिँ पद्म कोलोनीको निर्माण २०५२ सालमै सुरु भएकाले आफू मेयर भएर त्यसो गरेको आरोप झुटो भएको दाबी गर्छन् ।
गैर कानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोगस् बस्नेतलाई लागेको अर्को आरोप उनी मेयर हुँदा आर्जन गरेको अकुत सम्पत्तिलाई सुद्धिकरण गर्न खेलकुद क्षेत्रमा प्रयोग गरेको भन्ने हो ।
नेपाल क्रिकेट सङ्घलाई चन्दा दिएर अमेरिका भ्रमण गरेको, स्नूकर, नेटवल, टेबल टेनिसजस्ता खेल सम्बद्ध संस्थाहरूलाई आर्थिक सहयोग गरी त्यही आडमा क्यानडा, जापान, अस्ट्रेलियालगायतका देश भ्रमण गरेको जिकिर उजुरीमा गरिएको छ ।
बस्नेत चाहिँ नगरपालिकाको निर्णयबाट खेल क्षेत्र तथा खेलाडीलाई सहयोग गरिएको बताउँछन् । विदेश भ्रमण पनि प्रक्रिया पुर्याएरै गरेको उनको दाबी छ ।
अख्तियारमा परेको अर्को उजुरीमा बस्नेतमाथि एक सामुदायिक विद्यालयकी शिक्षिका श्रीमती उर्मिला बस्नेतलाई २०७९ असार १९ मा नगरपालिकामा काज झिकाउने क्रममा स्वार्थको द्वन्द्व हुने गरी टिप्पणी सदर गरेको भनिएको छ ।
मेयर बस्नेत पनि श्रीमतीलाई अवकाश हुनु भन्दा ३ महिना अगाडि काजमा ल्याएको स्वीकार गर्छन् । जनउद्धार माध्यमिक विद्यालयकी शिक्षिका बस्नेतलाई नगरपालिकाको शिक्षा शाखामा काजमा सरुवा गरिएको थियो । जुन नियमसँगत भएको दाबी मेयर बस्नेतको छ ।
अख्तियारमा बस्नेत विरुद्ध खानेपानी आयोजना निर्माणदेखि निजी कम्पनी खडा गर्ने कार्यसम्ममा अधिकारको दुरुपयोग गरेको भन्ने उजुरी पनि छ ।
‘पदको दुरुपयोग गरी शक्ति र पैसाको आडमा दबाब सिर्जना गरी समुदायमा खानेपानीको हाहाकारको अवस्था हुँदा पनि विभिन्न सामुदायिक खानेपानी तथा व्यापारिक बोरिङबाट घुसबापत धारो र पानीको लाइन जोड्न लगाई स्वार्थको द्वन्द्व गराउने काम भएको छ’ उजुरीमा भनिएको छ, ‘आफ्नो र आफ्नो परिवार, आसेपासेको नाममा वडा नं ५ मा स्पार्रकिङ पिउने पानी उद्योग नामक कम्पनी खोली पानी बिक्री गरेर मासिक लाखौंको आम्दानी गर्ने गरेका छन् । ’
नगरपालिका क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरू मास्ने कार्य गरी सार्वजनिक, सरकारी र समुदायको जग्गाहरू ठुला ठुला आवास योजनाभित्र पार्न सिफारिस गरेको र भूमाफियाँसँग मिलेर सार्वजनिक जग्गामा नगरपालिकाको खर्चमा बाटो खोलिदिएर करोडौँ हिनामिना गरेको आरोप पनि उजुरीमा लगाइएको छ । नगरपालिकाको वडा नं। ५ स्थित गैरी धारा सामुदायिक बन वरपर बस्नेतले अचल सम्पत्ति जोडेकाले पनि यस्तो कार्य गरेर अनुचित लाभ लिएको दाबी गरिएको छ ।