काठमाडौँ । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गाविरुद्ध दायर भएको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सोमबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।