काठमाडौँ । सहकारी रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको भन्दै रास्वपाका नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । गोलाबाट तोकिएको पेसी छ नम्बरमा रहेको छ ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका थिए। सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
अधिवक्ता भट्टराईले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, तोसिमा कार्की, सुमना श्रेष्ठ, सोविता गौतम, विराजभक्त महर्जन, असिम शाह, अशोककुमार चौधरी, गणेश पराजुली लगायतलाई विपक्षी बनाइएका छन् ।