काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले देश र नागरिकको सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उच्च अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको स्मरण गराउनुभयो ।
महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र सङ्गठनले तपार्इँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरोरूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”
सङ्गठनलाई समायानुकूल सुदृढ र गतिशील बनाउन नेतृत्व तहका प्रहरी अधिकृत सदैव चिन्तनशील रहनुपर्नेमा जोड दिँदै महानिरीक्षक कुँवरले विभिन्न श्रृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्न निर्देशन दिनुभयो । “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुन्छ, त्यसका लागि नीतिगत तहमा रहेका प्रहरी अधिकृत कटिबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतका तर्फबाट प्रहरी नायब महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका आठ जना प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको थियो । दज्र्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ ।