काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगरपालिकाभित्र रूखमा झिलिमिली लहरे बत्ती राख्न नपाइने मापदण्ड ल्याएको छ । महानगरपालिकाको आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गर्दै यस्तो मापदण्ड ल्याएको हो ।
मापदण्डको दफा २ मा गरिएको व्यवस्था अनुसार अबदेखि महानगरपालिकाभित्रका कुनै पनि व्यक्ति वा संस्थाले निजी घर, सार्वजनिक स्थान र होटल तथा रेष्टुरेन्ट परिसरमा रहेका रूखमा झिलिमिली बत्ति राख्न पाउने छैनन् ।
महानगरले यो मापदण्डमा सहरी सौन्दर्यका लागि रोप स्ट्रिट लाइट र स्ट्रिट लाइटहरू राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ। यसका साथै यसरी बत्ति राख्दा यसले मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी राख्नुपर्ने उल्लेख गरेको छ । मापदण्ड विपरीत कसैले बत्ती राखेमा महानगरले जफत गरी जरिवाना गर्न सक्ने मापदण्डमा उल्लेख गरिएको छ । महानगरले जात्रा पर्वका समयमा भने निश्चित अवधिका लागि यस्ता बत्ती राख्न छुट दिने उल्लेख गरेको छ ।