काठमाडौं । चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दाबाट भुर्तेललाई सफाइ दिएको हो ।
अख्तियारले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रहेको समयमा भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्तिआर्जन गरेको अभियोग लागेको थियो । उनीमाथि पदको दुरुपयोग गरी २ करोड ६३ लाख भ्रष्टाचार गरेको अभियोग सहित २०७२ फागुन ११ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा डा. भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन आदेश दिएको थियो ।