काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले नेकपा (एमाले) को पार्टी कार्यालय निर्माणका लागि दान गरेको जग्गा विरूद्ध परेको रिट स्थगित भएको छ। मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा परेको उक्त रिट स्थगित भएको हो।
व्यवसायी गुरूङले एमालेलाई दान दिने काम कानुनको मर्म र नैतिकता विपरीत भएको ले यो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए । उक्त रिट सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए। त्यसपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो।
उक्त आदेशपछि कात्तिक ७ गते दर्ता भएको रिट ७ पटक हेर्न नभ्याइने र दुई पटक हेर्न नमिल्नेमा परेको छ । उक्त रिटमा यसअघि कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासबाट कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो।