काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध ३१ करोड २६ लाखको विगाे दाबी माग गर्दै मुद्दा कास्की जिल्ला अदालतमा परेको छ । उनलाई विभिन्न ५ वटा कानून अनुसार प्रहरीले २ महिना लगाएर अनुसन्धान गर्दै मुद्दा दायर गरेको हो । उनको कसुर प्रभाणित भए २० वर्ष जेल सजाय हुने सक्ने देखिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय पोखराले लामिछाने विरुद्ध पाँचवटा कानुन विपरीत काम गरेको आरोप लगाउँदै जिल्ला अदालत पोखरामा मुद्दा दर्ता गरेको छ।
लामिछाने माथि प्रहरीले गरेको अनुसन्धान अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारी ऐन २०७४, सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७० राष्ट्र बैंक ऐन २०५८ मुलुकी फौजदारी संहिता २०७४ विपरीत काम गरेको आरोप लगाइएको छ। लामिछाने सहित ६३ जना विरुद्ध दायर मुद्दा जिल्ला अदालत पोखरामा विचाराधिन छ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले यसअघि नै दायर मुद्दामा पूरक अभियोजनपत्र दर्ता गराएको हो। मूल अभियोजनपत्र थप अभियोजनपत्र र पूरक अभियोजनपत्र गरी कुल ६३ जना सहकारी ठगीमा संलग्न भएको अनुसन्धान प्रतिवेदनको दाबी छ।
राष्ट्रिय स्वतन्त्रका पार्टीका सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारी ऐन २०६४ को दफा ५० को उफदफा ६ विपरीतको काम गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सहकारी ऐनको दफा ५० को उपदफा ६ मासहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक अचल सम्पत्ति खरिद पूर्वाधार निर्माण कारोबारमा लगानी फर्म वा कम्पनी वा कुनै बैंकको सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपभोग गर्न नहुने उल्लेख छ ।
लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा सङ्गठितरूपमा समूह बनाई सहकारीको बचत हिनामिना गरी ल्याई उक्त रकम प्रयोग गर्नुका साथै लामिछानेले दस्तखत गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र स्वर्ण लक्ष्मी बहुउद्देशीय सहकारी संस्थालाई भुक्तानी दिएको देखिरहेकाले सहकारी ऐन विपरीको कसुर गरेको प्रहरीको दाबी छ।
यस्तो छ कसुर स्थापित हुने कारण र आधार
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेको कसुर स्थापित हुने वभिन्न आधार र कारण अभियोग पत्रमा पेस गरेको छ ।
लामिछाने र जीबी राई लगायतले संगठित रूपमा योजनाबद्ध तवरबाट सहकारीको निक्षेप रकम अपचलन गर्ने समूहमा आवद्ध भई व्यक्तिगत खाता तथा निज आवद्ध गोर्खा मिडिया नेटवर्क प्रालि समेतमा रकमान्तर भई आएको रकम व्यक्तिगत तथा संस्थागत रूपमा उपयोग, धारण र प्रयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
रवि, जीबी लगायतले अनुसन्धानका क्रममा गरेका बयानमा उनी प्रबन्धक तथा शेयरधनी रहेको कम्पनीमा आएका रकमको सम्बन्धमा अनविज्ञता प्रकट गरे पनि गोर्खा मिडिया नेटवर्क प्रालिको लिडिङ कम्पनीको रूपमा रहेको जीबी कम्पनीबाट बरामद दस्तावेजमा गोर्खा मिडिया नेटवर्कको इन्भेष्टमेन्ट ओभरभ्यूमा स्पष्ट रूपमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायतका सहकारीहरूबाट लगानी गर्ने भन्ने योजना रहेको देखिएको आरोप पत्रमा उल्लेख गरिएको छ । लामिछाने शेयरधनी रहेको संस्थामा भएको लगानीको स्रोतको बारेमा अनविज्ञता प्रकट गर्नु भनेको अपराध लुकाउने मनसाय मात्र रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
सहकारीबाट आएको रकम व्यक्तिगत तथा संस्थागत रूपमा धारण गर्ने, रूपान्तरण गर्ने, हस्तान्तरण तथा प्रयोग समेतका कार्य गरेको देखिँदा यी प्रतिवादीले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै उल्लिखित गतिबिधि गरेबाट लामिछानेले सम्पत्ति शुद्धीकरण गरेको स्पष्ट रूपमा देखिन आएको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध भए पश्चात सन् २०२१/१/१८ मा सूर्यदर्शन बचत तथा ऋण सहकारीको नाममा सञ्चालनमा रहेको साबिक मेगा बैंकको खाताको चेकबाट गितेन्द्र बाबु राईको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा दुई करोड जम्मा भएकोमा सोही रकममध्ये सन् सन् २०२१/१/२१ मा रवि लामिछानेको नाममा रहेको ग्लोवल आईएमईको खातामा पचहत्तर लाखको चेक मार्फत जम्मा भएको देखिन्छ ।
रवि लामिछानेले पचहत्तर लाख नै गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा सन् २०२१/१/२२ मा जम्मा गरेको देखिन्छ । यसरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी गितेन्द्र बाबुको खातामा रकमान्तर भएको सो रकम मध्ये रवि लामिछानेको व्यक्तिगत खातामा जम्मा गरी उक्त रकम पुनः गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा रकमान्तर तथा हस्तान्तरण गर्दै कम्पनीमा अवैध तवरबाट प्राप्त गरी निजले आफ्नो खातामा धारण समेत गरी पुन: ट्रान्सफर गरेबाट सम्पत्ति शुद्धीकरण गर्ने कार्यमा उनको संलग्नता पुष्टी हुन आएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
लामिछानेले अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा गोर्खा मिडियामा निजले गरेको लगानी स्वेट सेयर बापत प्राप्त गरेको भनि बताए पनि उनले सहकारीबाट अपचलन भई आएको रकम नै गोर्खा मिडियामा लगानी गरी शेयरधनी भएको तथ्य सप्रमाण पुष्टी हुन आएको जिल्ला सरकारी वकिलको कार्यालको दाबी छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०७७ साल साउन महिना देखि १३ नं न्यू रजिस्टर ( कर्जा) भन्ने २०७७ साल देखिको कर्जा लगानी सम्बन्धीको रजिष्ट्ररमा कर्जा खाता नं ४४५६ मिति २०७८।०३।३१ देखि मिति २०७९।०३।३० (१२ महिना) सम्मको समयावधी रहने गरी रू.१,००,००,०००/- (एक करोड) कर्जा रकम १४.७५ % व्याजदर हुने गरी रजिष्ट्ररको माध्यम भन्ने महलमा अफिस उल्लेख गरी प्रतिवादी रवि लामिछानेको नाममा कर्जा प्रवाह गरेको देखिन्छ ।
सोही रजिष्ट्ररमा गितेन्द्र बाबु राई तथा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट निजको नाममा पेश्की जनाई गोर्खा मिडिया नेटवर्क प्रा. लि. अपचलन गरेको बचत रकम समेत रहेको तथा सो रजिष्ट्ररमा रहेका अन्य ऋणीहरूलाई बुझ्ने क्रममा निजहरूले रजिष्ट्ररमा उल्लिखित ऋण रकम सहि सत्य भएको र केही चुक्ता गरिसकेको र बाँकी रकम चुक्ता गर्न तयार रहेको भनि स्विकार गरेको अवस्थाबाट निजको नाममा जनाईएको ऋण रकम निजले लिएका हुन् भन्ने तथ्य स्थापित भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
सो तथ्यलाई प्रतिवादीले गोर्खा मिडिया नेटवर्क प्रा. लि. को ग्लोबल आइएमई बैंकको खाताको चेकबाट माथि तथ्य खण्डमा उल्लिखित तालिका अनुसार मासिक रूपमा दुईवटा रु. १,१२,०००/- वा एकै पटक रु.२,२४,०००/- को चेकहरू मार्फत नियमित रूपमा आफैले दस्तखत गरी, आफु नै शेयरधनी तथा प्रबन्धक समेत भएको कम्पनीबाट, आफु नै ऋणी भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतका सहकारी संस्थाहरूमा भुक्तानी दिएको तथ्याङ्कले निजले लिएको ऋण गोर्खा मिडिया प्रयोग भएको देखिएको जनाइएको छ ।
गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडबाट भुक्तानी भएका चेकहरूको विवरण विश्लेषण गर्दा कुल १२३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ रूपैयाँ भुक्तानी भएको देखिन्छ । सो मध्ये ८१४ वटा चेकबाट ४८ करोड ५८ लाख २२ हजार २४६ रूपैयाँ बराबरको भुक्तानी रवि लामिछानेको एकल हस्ताक्षरित चेकबाट र रवि लामिछाने र गितेन्द्र बाबु राईले संयुक्त रूपमा हस्ताक्षर गरेका ६ थान चेकबाट ६० लाख १९ हजार रूपैयाँ बराबरको भुक्तानी भएको र यसरी भुक्तानी भएका चेकहरू नेचर हर्ब्स इन्टरनेशनल प्रा. लि., नेचर नेष्ट प्रा. लि. जस्ता मिडिया क्षेत्रसँग कारोबार नै नहुने प्रतिवादी कम्पनीहरू समेतलाई भुक्तानी दिएको देखिदा सहकारी संस्थाहरूबाट अपचलन भई गोर्खा मिडियामा प्लेसमेन्ट भई आएको रकम उनजले लिचिट ओरिजनको रकम हो भन्ने जानि बुझि पुनः स्थानान्तरण गरी लेयरिङ गर्ने कार्यमा संलग्नता रहेको देखिएको आरोपपत्रमा उल्लेख छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचतकर्ताको निक्षेप प्रतिवादीहरूले संगठित रूपमा अपचलन गरी कसूरबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने समेतको गतिविधिमा प्रतिवादीको संलग्नता पुष्टि भइसकेपछि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क), (ख), (ग) मा उल्लेखित सबै निषेधित गतिविधिहरूको विद्यमानता नभई कुनै एउटा मात्र गतिविधि हुनु नै सम्पत्ति शुद्धीकरणको कसुर स्थापित हुनका लागि पर्याप्त आधारको रूपमा रहन्छ ।
यसमा प्रतिवादी रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट गैरकानूनी तवरले सहकारीको भावना तथा मर्म विपरित कर्जा बापत तथा सहकारीको खाताबाट विभिन्न व्यक्तिका खातामा रकमान्तर गरिएको रकम विभिन्न व्यक्तिहरू तथा कम्पनीबाट नगद तथा चेक मार्फत प्रयोग तथा धारण गरी प्रतिवादीले सम्पत्तिको सही प्रकृति बदल्ने सो उपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोग समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टी हुन आएको उल्लेख गरिएको छ ।
प्रतिवादी रवि लामिछाने शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेको गोर्खा मिडिया नेटवर्क प्रा. लि. मा कूल निक्षेप रू.९३,३५,९३,९९५।०९ (अक्षेरूपी त्रियानब्बे करोड पैतीस लाख त्रियानब्बे हजार नौ सय पन्चानब्बे रुपैया नौ पैसा) रहेको मध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतबाट सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको अपचलन भएको रकम तथा कसूरबाट आर्जित रकम रु. ६७,८७,७०,२२०।०० (अक्षेरूपी सत्सठ्ठी करोड सतासी लाख सत्तरी हजार दुईसय बिस रूपैयाँ) निक्षेप भएको तथा सो मध्ये प्रतिवादी रवि लामिछाने शेयर होल्डरको रूपमा रहेको अवधीमा रू.२६, १४,४४,७०५ । – (छब्बिस करोड चौध लाख चौवालिस हजार सात साय पाँच रूपैया) रकमान्तर भै आएको तथ्यले निजले कानूनी व्यक्तिहरू प्रयोग गरी कम्पनीको माध्यमबाट कसूरबाट आर्जित सम्पत्ति धारण तथा प्रयोग गरेको देखिदा प्रतिवादी समेतको मिलेमतोमा विभिन्न सहकारीको अपचलन गरी प्राप्त हुन आएको सम्पत्तिको गैरकानूनी स्रोतलाई लुकाउने, छल्ने अधिकार र स्वामित्व परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्वरुप र स्रोत छल्ने एवम् बदल्ने र सम्पत्तिको गैरकानूनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको वीचमा दुरी कायम गर्ने समेतका कार्य गरी उक्त कम्पनीको बैंक खाताहरूमा Placement and Disposition गरी गराई प्राप्त हुन आएको रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि. मार्फत प्रयोग तथा रकमान्तर समेत गरी सम्पत्ति शुद्धीकरण कसूर -प्रमाण पुष्टि हुन आएको जनाइएको छ ।
कानूनी व्यक्तिको कसूर स्थापित सम्बन्धमा बिश्लेषण
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (८) मा कानुन बमोजिम स्थापना भएको कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरणको कसुर गरेमा कानूनी व्यक्तिलाई नै सजाय हुने व्यवस्था गरेको देखिन्छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा ३० ले समेत कानूनी व्यक्ति उपर आपराधिक कार्यको दायित्व सिर्जना हुने व्यवस्था गरेको देखिन्छ ।
सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनार्थ कानूनी व्यक्तिको प्रयोग गर्नु र कानूनी व्यक्ति नै कसुरमा संलग्न दुई फरक-फरक सजाय हुने कसुरजन्य कार्यको रुपमा रहेका देखिंदा प्रतिवादी गितेन्द्र बाबु राई समेतका प्रतिवादीहरूले गोर्खा मिडिया नेटवर्क प्रा.लि. समेतका विभिन्न कानूनी व्यक्तिहरू (कम्पनी) खडा गरी ती कानूनी व्यक्तिहरु प्रतिवादीहरूको प्रत्यक्ष योजना तथा संलग्नता बमोजिम सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने उद्देश्यले खडा गरिएका उल्लिखित कम्पनीहरूमा सहकारी संस्थाहरूमा रहेको वचतकर्ताको वचत रकम अपचलन गरी सो रकमको गैरकानूनी स्रोत लुकाउने, छल्ने अधिकार र स्वामित्व परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्वरुप र स्रोत छल्ने एवं बदल्ने र सम्पत्तिको गैरकानूनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको वीचमा दुरी गर्ने समेतका कार्यविधि अपनाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग) ले निषेधित कार्यहरु गरी गराई कानूनी व्यक्तिहरु समेतको प्रयोग भई सम्पत्ति शुद्धीकरणको कसुर गर्नमा संलग्न रहेको तथ्य स्थापित हुन आएको देखिनुका साथै उल्लेखित कानूनी व्यक्तिहरुको लगानीको स्रोत नै गैरकानूनी रहेको तथ्य स्थापित भएकोले यी कम्पनीहरुले आर्जन गरेको नाफा लगायतको रकमका साथै उक्त कम्पनीहरुको जायजेथा एवम् जग्गा, भवन, लगायतको सम्पत्ति समेत स्वतः कसुरबाट एवं शुद्धीकरण गरिएको सम्पत्तिमा रुपान्तरण भएको तथ्य पुष्टी हुन आएको जनाइएको छ।