बालकोट प्रकरण: बाबु र भाइको ज्यान लिएको स्वीकारे मिलनले

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको एक घरमा सोमबार मृत भेटिएका बाबु र छोराको हत्या परिवारकै जेठा छोरा मिलन आचार्यले गरेको खुलासा भएको छ। खोटाङका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविणको हत्या मिलनले पारिवारिक तनावका कारण गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार मिलनले बाबु कुलप्रसाद र भाइ प्रविणबाट लगातार मानसिक दबाब खेपिरहेका थिए। भाइ प्रविण कुलतमा फसेको र बाबु डिप्रेशनको बिरामी रहेको अवस्थामा परिवारका सदस्यबाट आफूले अपेक्षित सहारा नपाएको महसुस गर्दै मिलनले यस्तो जघन्य अपराध गरेको खुलेको छ।

हत्या गरेपछि मिलनले आत्महत्याको प्रयास गरेको तर असफल भएको स्वीकार गरेका छन्। अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार मिलनलाई महाराजगञ्जबाट नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा उनले बाबु र भाइको हत्या गरेको स्वीकारेका छन्।

शनिबार राति कुलप्रसाद आफ्नो छोराहरूसँग बालकोटस्थित कोठामा बसेका थिए। त्यस रात उनीहरूले सँगै खाना खाएका थिए। तर, आइतबार बिहान कोठामा बाहिरबाट ताला लागेको थियो। फ्ल्याटका अन्य भाडामा बस्ने व्यक्तिहरूले उनीहरू कतै गएका होलान् भन्ने ठाने।

सोमबार बिहानसम्म कुनै हलचल नदेखिएपछि भाडामा बस्नेहरूले प्रहरीलाई खबर गरे। प्रहरीको टोलीले ताला फोड्दा बाबु र छोरा छुट्टाछुट्टै कोठामा मृत भेटिए। अनुसन्धानका क्रममा मिलन आइतबार राति ३ बजे स्कुटर लिएर बाहिरिएको सीसीटीभी फुटेजले पुष्टि गरेको थियो।

मिलनले मोबाइल अफ गरी आफूलाई लुकाउने प्रयास गरेका थिए। तर, मंगलबार महाराजगञ्जमा भेटिएका उनलाई नियन्त्रणमा लिइएको हो। एसएसपी भट्टराईका अनुसार अब भक्तपुर प्रहरी परिसरले उनलाई कर्तव्य ज्यानको अभियोगमा अनुसन्धान अघि बढाउनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज