निकुञ्जसम्बन्धी ऐन संशोधनको तयारीमा छौँः राज्यमन्त्री विक

काठमाडौं । सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधनको तयारीमा रहेको जानकारी गराउनुभएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले अहिले भएको निकुञ्जसम्बन्धी ऐन नियम नागरिकमैत्री बन्न नसकेको भन्दै वन्यजन्तु संरक्षण र विकासबीच सन्तुलन मिलाउनु आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज÷मध्यवर्ती क्षेत्र व्यवस्थापनसम्बन्धी विधमान कानुनी प्रावधानको समीक्षा एवं सुधारका विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न उक्त नीति संवाद कार्यक्रममा आयोजना गरिएको थियोे ।
राज्यमन्त्री विकले अहिलेको निकुञ्ज ऐन र मध्यवर्ती नियमावलीका कारण एकले अर्कोलाई दोषारोपण गर्ने अवस्था रहेकाले यसमा सुधार आवश्यक भएको बताउँदै राजनीतिक अस्थिरताका कारण विगतमा ऐन कानुन संशोधन गर्न ढिलाइ भएको बताउनुभयो ।
बागमती प्रदेशसभामा सदस्य एकालाल श्रेष्ठले मध्यवर्ती क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताउँदै मध्यवर्ती क्षेत्रको सीमा परिवर्तन गर्न नसक्ने हो भने बस्ती स्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै वन्तजन्तुको बासस्थानमा सुधार हुँदा पछिल्लो समय वन्यजन्तुको सङ्ख्या बढेको बताउनुभयो ।
तराई भूपरिधिका एकराज सिग्देलले मध्यवर्ती क्षेत्रलाई विकास र समन्वय गर्ने सेतुका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललगायतले मध्यवर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज