सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह सहित दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।
डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडा अध्यक्ष साहलाई प्रहरीले २० मंसिरमा शपथ ग्रहण गर्दा गर्दै पक्राउ गरेको थियो ।
नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको थियो। साहसहितको समूहले सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई पनि अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप लगाइएको छ ।