झापा । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई बलात्कार अभियोगमा झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश नविनकुमार जोशीको इजलासले सोमबार मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार थुनामा राख्न आदेश दिएको हो।
अदालतले शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गर्दै कारागार प्रशासनलाई उनको उपचारका लागि विशेष व्यवस्था गर्न निर्देशन दिएको छ। यसअघि उनी अस्पतालमा उपचाररत थिए भने सोमबार कारागार चलान गरिएको छ।
मंसिर २४ मा प्रहरीले शिवाकोटीलाई १७ वर्षीया घरेलु कामदार बालिकामाथि जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको थियो। बालिका भारततर्फ जाँदै गर्दा आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकी सोधपुछ गरेका थिए। सो क्रममा घटनाको खुलासा भएपछि उनीहरूकै सहयोगमा बालिकाको उद्धार भएको थियो।
उद्धारपछि पीडित बालिकाले शिवाकोटीले आफूमाथि पटकपटक बलात्कार गरेको बताएकी छन्। बालिकाका बुबा नभएको र आमा भारतमा बस्ने हुँदा शिवाकोटीले उनलाई पढाइ दिने वाचा गर्दै घरेलु कामदारका रूपमा राखेको खुलाइएको छ।