काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरेको भन्दै नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा ‘‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारकाबारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’’ उल्लेख छ।
आज जारी विज्ञप्तिमा यस्तो गलत काममा संलग्न दोषीलाई खोजेर कानूनी कारबाही गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
‘‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ। साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ’’ उक्त विज्ञप्तिमा उल्लेख छ।
यस्तो थियो नक्कली विज्ञप्ति
सभापति देउवाको नाममा जारी नक्कली विज्ञप्तिमा संसद् अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको भन्दै सभापति शेरबहादुर देउवाको नामबाट आपत्ति जनाएको ब्यहोरा उल्लेख छ ।
उक्त विज्ञप्ति नेपाली कांग्रेसको छापदेखि सभापति देउवाको हस्ताक्षरसमेत प्रयोग गरिएको छ ।