वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको कानून व्यवसायी तथा बार इकाइद्धारा भर्त्सना

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौँ परिसरमा बुधवार भएको कुटपिटको घटना प्रति कानून व्यवसायी तथा विभिन्न बार इकाइहरूले विरोध जनाएका छन्।
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले कानुन व्यवसायीले पेसागत धर्मअनुसार पक्षको तर्फबाट बहस गर्नु कानुनी प्रक्रिया र मर्यादाको अभिन्न हिस्सा भएको उल्लेख गर्दै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दामा बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको कुटपिटले न्यायपालिकाको स्वतन्त्रता र सुरक्षा माथि गम्भीर प्रश्न उठाएको जनाएको छ । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. विमल) र सचिव उज्ज्वल राम श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको कडा भर्त्सना गरेका छन् ।
बार एसोसिएसनले दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारबाही गर्न जोडदार माग गरेको छ। त्यसै गरी, विशेष अदालत बार एसोसिएसनका सचिव युवराज बन्जाडेले पनि विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरी अदालतबाट निस्कने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि गरिएको आक्रमण उन्नत लोकतान्त्रिक मूल्य र न्यायिक प्रक्रिया विपरीतको आपराधिक कार्य हो। यस्तो आक्रमण कानून व्यवसायी र न्याय प्रशासनमाथि नै प्रहार हो।”
बार एसोसिएसनले घटनामा संलग्न अपराधीलाई तत्काल पहिचान गरी कानुनअनुसार कारबाही गर्न माग गरेको छ। यस घटनाप्रति नागरिक समाज, राजनीतिक दल, र कानून व्यवसायीले पनि विरोध जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज