काठमाडौँ । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।
कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्ने प्रस्ताव पारित गरेको थियो ।
समितिले उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य राखेर उजुरी दिन पाउने उल्लेख गरेको छ । त्यसैगरी यस सम्बन्धि सूचना वा उजुरी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समयमै समितिको सचिवालयमा आइपुग्ने गरी पठाउन भनिएको छ ।