काठमाडौँ । आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । उनी माघ १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेपछि उनलाई भक्तपुर प्रहरीले पुनः पक्राउ गरेको थियो ।
साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।
मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।