उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दोषीहरूलाई उच्च अदालतबाट पनि सजाय कायम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दोषीहरूलाई जिल्ला अदालतले सुनाएको दुई वर्ष कैद सजायलाई उच्च अदालतले पनि सदर गरेको छ।

मंगलबार उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले जिल्ला अदालतको निर्णयलाई पुनः पुष्टि गर्दै, पीडितलाई दिनुपर्ने क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँले घटाउने आदेश दिएको छ।

२०७७ सालमा त्रिवि परिसरमै उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणमा संलग्न रहेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा, र सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

जिल्ला अदालतले पीडित चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएकोमा उच्च अदालतले सो रकम चार लाखले घटाएर संशोधित निर्णय सुनाएको छ। त्यसैगरी, घटनामा संलग्न भएको आरोप लागेका दीपकराज ओझालाई जिल्ला अदालतले निर्दोष ठहर गरेपछि उच्च अदालतले पनि सोही फैसला सदर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज