काठमाण्डौ । प्रेस काउन्सिल नेपालले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत भ्रामक, अतिरञ्जित तथा तथ्यहीन सामग्री प्रकाशन तथा प्रसारण गर्ने ३८ युट्युव च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रेस काउन्सिल नेपालका अनुसार, समाजमा गलत सूचना प्रवाह गर्ने विभिन्न युट्युव च्यानलहरूलाई नियमन गर्न तथा प्रेस आचारसंहिताको पालनाका लागि उक्त कारबाही थालिएको हो। काउन्सिलले प्राप्त उजुरी र निगरानीका आधारमा कानूनी प्रक्रिया अगाडि बढाउँदै सम्बन्धित युट्युव च्यानलहरूलाई स्पष्टीकरण सोध्ने तथा आवश्यक कारबाही गर्ने निर्णय गरेको जनाएको छ।
प्रेस काउन्सिलले सूचना प्रवाहमा जिम्मेवारीपन जरुरी रहेको भन्दै पत्रकार आचारसंहिताको पालनामा कडाइ गर्ने नीति लिएको जनाएको छ। यसै क्रममा, काउन्सिलले मिडिया नियमनलाई प्रभावकारी बनाउन विभिन्न चरणमा अध्ययन तथा अनुगमनलाई तीव्र पार्ने जनाएको छ।
यसअघि पनि प्रेस काउन्सिल नेपालले तथ्यहीन तथा भ्रामक समाचार प्रकाशन गर्ने युट्युव च्यानलहरूलाई सचेत गराउँदै आएको थियो। अबको प्रक्रियामा भने स्पष्ट कानूनी कार्यवाहीको तयारी भइरहेको काउन्सिलका अधिकारीले जानकारी दिए।