नागार्जुनका निलम्बित मेयर बस्नेतमाथि दोहोरो भ्रष्टाचार अभियोग, थप ८ करोड अनियमितताको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतमाथि विशेष अदालतमा पुनः भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले बस्नेतविरुद्ध थप ८ करोड ६९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार अभियोग लगाउँदै आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदको दुरुपयोग गर्दै गैरकानूनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएपछि अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा उनले वैध आम्दानीभन्दा धेरै खर्च तथा लगानी गरेको पाइएको छ।

अनुसन्धान अनुसार बस्नेत र उनको परिवारको जाँच अवधिभरको कुल वैध आम्दानी १९ करोड ९५ लाख रुपैयाँ रहेको देखिएको छ। तर, उनले सोही अवधिमा २८ करोड ६५ लाख रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। वैध आम्दानी र खर्चबीच ठूलो अन्तर देखिएपछि ८ करोड ६९ लाख रुपैयाँको स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।

यो नयाँ भ्रष्टाचार मुद्दा अघि, बस्नेतमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा समेत अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। पुनः अर्को अनियमितता भेटिएपछि उनले राज्य कोषमा दोहोरो अनियमितता गरेको पुष्टि भएको आयोगको दाबी छ।

बस्नेतमाथिको यी आरोपले स्थानीय तहमा भएको भ्रष्टाचारलाई थप उजागर गरेको छ। अब विशेष अदालतको निर्णयले उनको राजनीतिक भविष्य कतातिर मोडिन्छ भन्ने विषय चासोको विषय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज