काठमाडौँ । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटावीच औपचारिक रूपमा नै सम्बन्ध विच्छेद भएको छ । मङ्गलवार काठमाडौँ जिल्ला अदालतले उनीहरूको सम्बन्ध विच्छेदको गरिदिएको हो । हाल अस्ट्रेलियामा बस्दै आएका विष्णुले वारेसमार्फत सम्बन्ध विच्छेदको मुद्दा लडेका थिए ।
एलिना र विष्णुबिच गत वैशाख ५ गते विवाह भएको थियो । एलिनाले श्रीमानसँग अंश र माना चामलको दाबी नगरेका कारण सम्बन्ध विच्छेदको प्रक्रिया छिटो भएको हो ।
गायिका चौहानले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यसको पुष्टि गरेकी छिन् । उनले आफ्ना पूर्व पति विष्णु सापकोटालाई सम्बोधन गर्दै भावुक स्ट्याटस लेखेकी छिन् । यस्तो छ गायिका चौहानले लेखेको स्ट्याटस
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्।
तिम्रो हातले रङ्गिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आज देखी स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।