काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ को महिला सञ्जालले वडाबासीलाई कानुनी ज्ञान प्रदान गर्ने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। वडाको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा स्थानीय विवाद समाधानका कानुनी प्रक्रिया, अधिकार र जिम्मेवारीबारे जानकारी प्रदान गरियो।
कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कानुनी साक्षरताको महत्व औंल्याउँदै भनिन्, कानुनी ज्ञानले जोखिम कम गर्छ र समस्या परे समाधानको बाटो देखाउँछ। त्यसैले नागरिक मात्र होइन, जनप्रतिनिधिहरूले पनि कानुनी विषयमा अपडेट हुनुपर्छ। उनले बहाल करसम्बन्धी विवादको उदाहरण दिँदै कानुनी अज्ञानताले आर्थिक तथा सामाजिक समस्या निम्त्याउन सक्ने बताइन्।
वडाध्यक्ष आशामान संगतले स्थानीय तहमा देखिने विविध विवादहरूको चर्चा गर्दै कानुनी साक्षरताले समाधानको प्रक्रिया सहज बनाउने उल्लेख गरे। उनले भने, वडामा हराएका परिवारका सदस्यहरू, घरायसी कलह, छरछिमेकबीचका विवाद, लेनदेन समस्या जस्ता धेरै मुद्दाहरू आउँछन्। यी समस्या समाधान गर्न कानुनी ज्ञान अनिवार्य छ।
महिला सञ्जालका संयोजक सरस्वती राजभण्डारीका अनुसार २०७९ यता सञ्जालमा २३ वटा विवाद दर्ता भएका छन्, जसमा १२ वटा फस्र्योट भइसकेका छन् भने ७ वटा मेलमिलाप प्रक्रियाबाट समाधान गरिएका छन्। बाँकी ४ मुद्दा प्रक्रियामा छन्।
कार्यक्रममा सर्वोच्च बार एशोसिएसनका वरिष्ठ अधिवक्ता प्रा. डा. शशी अधिकारीले घटना दर्ता र कानुनी प्रक्रियाबारे जानकारी गराए भने, अधिवक्ता सुनिता रेग्मीले शिफारिस प्रक्रियाका कानुनी आधारबारे प्रस्तुति दिइन्।
अन्तर्क्रियात्मक सत्रमा सहभागीहरूले साना तर महत्त्वपूर्ण कानुनी जानकारी प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे। उनीहरूले कानुनी ज्ञानले परिवार र समाज व्यवस्थापनमा सहजता ल्याउने धारणा राखे।