काठमाडौं । गायक कुमा सागरलाई गिज्याएको आरोपमा तीन कमेडियनविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ। कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाले आफ्नो प्रस्तुतिमा गायक कुमा सागरको मजाक उडाएको भन्दै नेवार समुदायका केही प्रतिनिधिहरूले उनीहरूविरुद्ध उजुरी दिएका हुन्।
उजुरीमा कमेडियनहरूले गरेको प्रस्तुतिले नेवार समुदायको आत्मसम्मानमा चोट पुर्याएको दाबी गरिएको छ। यस विषयमा प्रहरीद्वारा प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उजुरीका सम्बन्धमा दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भइरहेको छ।
यस घटनाले सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ। केहीले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तर्क राखिरहेका छन् भने केहीले कुनै पनि समुदायको भावनामा चोट पुर्याउने किसिमका प्रस्तुतिहरू सच्याइनु पर्ने भन्दै आपत्ति जनाएका छन्। प्रहरी प्रशासनले सबै पक्षको धारणा सुनेर कानुनी प्रक्रिया अघि बढाउने बताएको छ।