पोखरा । नेपाल ट्रस्टको जग्गामा फेवाताल किनारमा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले विपक्षी मानव सेवा फाउण्डेसनको नाममा कोटीहोम गुर्नपर्ने कारणसहित लिखित जवाफ दिन कारण देखाउ आदेश जारी गरेको हो ।
फेवातालको मापदण्डभित्र पर्ने सिमसार क्षेत्रमा महायज्ञ गर्दा पर्यावरणदेखि सिमसार क्षेत्र र योसँग आश्रित जैविक विविधितामासमेत खलल पर्ने भन्दै अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले फागुन २ गते कोटीहोम रोक्न माग गर्दै उच्च अदालत रिट निवेदन हालेका थिए ।
रिटमा कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन, पोखरा महानगरपालिका, पोखरा ६ नम्बर वडा कार्यालय, १३ नम्बर वडा कार्यालय, १४ नम्बर वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल ट्रस्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहितलाई विपक्षी बनाइएको छ ।
वैशाख १ गतेदेखि कोटीहोम गर्न भन्दै आफूलाई बालयोगेश्वर विजय कृष्णमूती बनाउने विजय भण्डारीको नेतृत्वमा पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समिका रुख काटिएका छन् । यसको चौतर्फी आलोचना भएको थियो ।