आज म शीर्षक विहीन बनेको छु । आज मलाई मन देखि लेख्ने इच्छा थिएन तर ग्यालरी हेर्दै जाँदा पुरानो यादहरूले सतायो अनि आउने दिनहरू हामी र हाम्रो बारलाई के खाँचो छ नलेखी मनै मानेन ।

तस्बिरमा देखिएको भवनसँग मेरो गहिरो सम्बन्ध जोडिएको छ । मैले मेरो स्कुलका सम्झना लायक दिनहरू यही भवन भित्रका दृश्यहरू हेरी बिताएको छु । यो भवन उस बेलाको चितवन जिल्ला अदालत हो । अहिले यो भवनलाई नयाँ भवनले विस्थापित गरे पनि जहिले चितवन जिल्ला अदालत पुग्छु यो भवन भित्रका कोठाहरूमा आफूलाई एक पटक समाहित नगरी फर्किनै सक्दिन । मलाई पुरानो दिनहरूले रोमाञ्चित गर्छ । उस बेला यो भवनमा बहस सुन्ने गर्दथे । आजकाल बेला बेलामा बहस गर्न नयाँ भवनमा पुग्छु । यो भवनले जुन ऊर्जा, आँट, र उत्प्रेरणा गर्छ त्यसलाई म यो लेखमा उतार्न सक्दिन । ती सम्झनाका महासगरले मलाई भाव विभोर गराउँछ । अनि केही समर्पणका वाचाहरू दिएर पठाउँछ । मन देखि मलाई यो भवन र यो भवनसँगै जोडिएको चितवन जिल्ला बार एसोसिएसनका लागि मैले केही गर्न सके भने पनि मेरो व्यावसायिकता केही अंशको लगानी गरे भन्ने लाग्छ । तर मैले र म जस्तै हजारौँ कानुन व्यवसायीले यी दुवै सँठाका लागि केही गर्नु पर्ने छ । अनि तिनका मान सम्मान स्वतन्त्रता र निर्भीकतामा योगदान गर्नु पर्छ भन्ने दृढ सङ्कल्पबाट पर हट्न सक्दिन।
यो भवनको इजलास भित्र मैले उस बेलाका र अहिले पनि पेसामा दिग्गज रहनु भएका वरिष्ठ अधिवक्ताहरू धेरै आवत जावत देखेको छु । अनि उहाँहरूको दमदार बहस सुनेको छु । म ९ १० कक्षमा पढदा देखि का मेरा यादहरूले मलाई अहिले पनि छोडेको छैनन् । मैले मेरो अघिल्लो शनिवारको डायरीहरूमा कोरिसकेको कुरा के हो भने जब जब चर्चित मुद्दाहरू हुन्थे अनि स्कुल बिदा भएका दिन हुन या हाफ छुट्टी लिएर होस बुबाले आज अदालत आइज भन्नु हुन्थ्यो । मलाई थाहा हुन्थ्यो की आज कुनै ठुलो मुद्दा छ अनि चितवनका सिनियर वकिलसहित काठमाडौँबाट आउनु भएका वकिलहरूको पक्ष विपक्षी टिमबाट खतरा बहस हुन्छ । बुबाले भन्नु हुन्थ्यो यी बहस सुनेर कानुनको जानकारी नि हुन्छ अनि वक्तृत्वकला पनि सिकिन्छ । उस बेला स्कुलमा म राम्रो वक्तृत्वकलामा दरिएको विद्यार्थी थिए। चाहे निबन्ध लेखन होस, वक्तृत्वकला होस या वादविवाद, पुरस्कार लिएर घर नआएको शुक्रवार नै हुन्थेन । अझ कानुन, मानव अधिकार, न्याय, बाल न्याय, अपराध मैले लेखेको निबन्धले पुरस्कार तानी हाल्थ्यो ।
म आफूले पत्तो नपाई कानुन तिर तानिँदै रहेछु । कानुन मै मैले जीवन बिताउनु पर्ने रहेछ भन्ने पत्तो पाउन मलाई सन् २००० सम्म कुर्नु पर्यो । अहिले आफूलाई गर्व लाग्छ । म यो पेसाको एउटा इमानदार व्यवसायी हु। म कानुन व्यवसायी हुँ । मैले बार एसोसिएसनको भूमिकाको बारेमा पहिलो पटक बुझ्दा कानुनी साक्षरता दिने संगठन रहेछ भन्ने लाग्थ्यो किनकि म उस बेला चितवन जिल्ला अदालत बारले सञ्चालन गर्ने कानुनी साक्षरतामा बुबा सँगै जाने गर्थे । मेरा ती अनुभवलाई जोडेर प्रजातन्त्रका बारेमा २०४६ सालको जनआन्दोलनताका बहुत काम लाग्यो । म त्यस बेला चितवन माध्यमिक विद्यालयको आन्दोलन समितिको अध्यक्ष भई नेविसंघको अध्यक्ष भई विद्यार्थी राजनीतिमा लगियो । स्कुल, वीरेन्द्र क्याम्पस, नेपाल ल क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयसम्म विभिन्न पदमा सक्रिय विद्यार्थी राजनीति गरी कानुन पेसामा छिरियो जानी नजानी । तर म मा आफ्नो पेसा गर्ने बाहेक पेसामा योगदान गर्ने जुनुन् कहिले मरेन र मर्ने पनि छैन । तर जब जब पेसा भित्र बुझ्दै गइयो त्यति उत्साहित हुने वातावरण खासै नबनेता पनि बुबाले देखाएको बाटो अनि मैले कानुन व्यवसायी र बारलाई गर्ने सहयोग र योगदान अजर र अविचलित छ ।
मैले अघिल्लो हप्ताको डायरीमा आसन्न नेपाल बार एसोसिएसनको चुनावमा आफूलाई महासचिव पदको दावदारीका लागि इच्छा जाहेर गरेको कुरा लेखिसके र त्यसलाई सार्थकता दिनका लागि प्रजातान्त्रिक कानुन व्यवसायिहरुको राजनीतिक विचारधारा राख्ने हाम्रो साथ नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनमा जाहेर गरिसकेको छु । मैले जाहेर गरे देखि मलाई अग्रज कानुन व्यवसायी, मित्र र व्यवसायका अनुजहरूले शुभकामनाका शब्दहरूले मेरो मेसेन्जर भरिएको पाए । धेरै प्रेरणा र सफलताका शुभकामनाहरूले धेरै उत्साह र जिम्मेवार पनि बनाएको महसुस भएको छ । तर नेतृत्व दिनका लागि हाम्रो रेखा कोर्ने समितिले कसरी मूल्याङ्कन गर्छ त्यो त समयले बताउला नै । यही बिचमा मलाई केही शब्दहरूले धेरै नै घोचेको छ । सरोज जी तपाई बिचरा चुनावमा उठ्न खोज्नु भएको छ तपाईँले आफूलाई बारले दिएको जिम्मेवारी बेखुबी निभाई सक्नु भएको छ तर बारमा कसलाई टिकट दिने भन्ने कुरा सब तयार छ तपाईँ कसैको पनि लिस्टमा हुनुहुन्न । पेसा राम्रोसँग गर्नुहोस् बारमा इच्छा नगर्नुहोस् ।
मलाई यी शब्दहरूले एकातिर नमिठो घोच्छ भने अर्को तिर झन् दृढ संकल्पित र अठोटले भर्छ। मैले एक त सर्वोच्च अदालत बारमा कोषाध्यक्षको पदमा रही निर्वाह गरेको भूमिकाको सकारात्मक मूल्याङ्कनले मलाई अभिप्रेरित गरिरहन्छ भने बार बाहिर हुँदा पनि बारको विशेष जिम्मेवारीहरू सही ढङ्गबाट निभाएको छु भन्ने लाग्छ । गल्तीहरू त मानव जीवनका स्वाभाविक क्रियाकलाप हुन समय अनुसार सच्चिँदै जाने नै हुन ।
अब हामीले खोजेको बार बनाउने हो या यथास्थितिमा राख्ने ?
मैले बुझेसम्म नेपाल बार एसोसिएसन र यसका इकाईहरूले कानुन व्यवसायमा खेल्ने भूमिका संवेदनशील अनि महत्त्वपूर्ण हुन्छन् । चाहे त्यो कानुनको शासनका लागि होस, मानव अधिकारका लागि होस, स्वतन्त्र न्यायपालिकाका लागि होस वा व्यावसायिक मर्यादा र कानुनी शिक्षाको लागि । नेपाल बारले कानुन व्यवसायीका लागि खोज्ने अवसर हुन या कानुनी र नीतिगत सवालमा राख्ने अडान र सहयोग होस, या न्याय माथिको पहुँच होस या कानुनी प्रणालीमा सकारात्मक परिवर्तन गर्ने कुरा होस। कसैले गर्न सक्छ भने त्यो बार र कानुन व्यवसायीले मात्र सक्छ । त्यसैले कानुन व्यवसायी हुनु र बार सँगको आबद्धता हुनु आफै चाने चुने कुरो होइन ।
एउटा सामाजिक अभियन्ता रहेको बार एसोसिएसनको सफलताका यी केही मूलभूत अभिभारा हुन । तर यी अभिभारा बार ले के कसरी निभाउने भन्ने कुराको अन्तिम टुङ्गो भने बारमा को आउँछ भन्नेले निर्धारण गर्छ। तसर्थ बारमा कसलाई उठाउने र जिताउने भन्ने कुरामा कानुन व्यवसायी चुके भने बारलाई सामान्य बारको अर्थ भन्दा बाहिर गएर नागरिक समाजले बुझ्ने गर्छन् र त्यही देखिन्छ ।
मैले अघिल्लो हप्ता सम्पन्न भएको ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा प्रस्तुत गरेको मन्तव्यमा सेक्सपियरले लेखेका हेनरी छैठौको पुस्तकबाट साभार गरेको एउटा वाक्यको व्याख्या गर्ने प्रयास गरेको थिएँ। उक्त पुस्तकका खल पात्रले , हामीले पहिलो कुरा के गरौँ भने सब वकिलहरूलाई मारी दिऊँ । यो वाक्यलाई जानी नजानी धेरैले हामी कानुन व्यवसायीको मान मर्दनका लागि प्रयोग गरेको देखिन्छ । तर वास्तवमा पुस्तकका खल पात्रले जनताले राज्यका बारेमा केही जननुन, जनता जागरूक र बुझ्ने नहुन। जनतालाई अधिकारको बारेमा विद्रोह गर्ने, चेतना जोगाउने, सचेत गराउने भनेको वकिल हुन । त्यसैले जबसम्म वकिल रहन्छन् जनताले गलत कामको विद्रोह गर्छन् त्यसैले वकिललाई नै मारिदियो भने काम तमाम जनता दास ।
यसबाट कानुन व्यवसायीको दायित्व के रहेछ भन्ने कुरा १५औँ शताब्दीमा नै बुझ्न सकिन्छ। उस बेला बार एसोसिएसन हुन्थ्यो भने बारलाई पनि सायद लिक्विदेट गर्नु पर्दछ भन्थे होला । सेक्सपियरद्वारा लिखित माथिका वाक्यांशलाई हामीले अहिले गम्भीरताका साथ हेरिनु पर्छ भन्ने लाग्दछ ।
नेतृत्व दक्षिणाको उपज होइन, आवश्यकताको खोजी हो
मैले जहिले देखि बार बुझ्न थाले, के देखेँ भने बार नेतृत्व निर्माण गर्ने संस्था हुँदै गर्दा पनि जुन हिसाबमा नेतृत्व तयार गर्नु पर्ने हो त्यो सकेको देखिन। अझ म जस्तो कानुन व्यवसायी जो प्रभावशाली नेतृत्व गर्ने अग्रजहरूको समीपमा बसेर काम गर्ने मौका पाइन् । त्यसैले पनि म बिचरा ठहरिएको हुँला । हुन त मलाई नि भन्ने गरिन्छ तिमी कानुन व्यवसायी कै सन्तान भएकोले तिमिलाई जति सजिलो कसलाई होला र। उहाँहरूको सोचलाई अन्यथा भन्दिन तर मेरो बुबाले मेरो लागि आजसम्म भनसुन गरेको मैले थाहा पाएको छैन । मैले एक दुई पटक बुबालाई भने बुबा तपाईँले कानुन व्यवसाय गरेको धेरै वर्ष भयो । तपाईँको सबसँग राम्रो चिनजान र मित्रता छ । बारमा नेतृत्व गरौँ अनि व्यवसायमा योगदान गरौँ भन्नलाई नि नजिक कै हुनु पर्छ भन्ने देखियो, एक पटक भन्नुहुन्छ कि कुरा गर्नु हुन्छ कि भनेर अनुरोध गर्दा बुबाले भन्नु भयो , बाबु क्षमता भयो भने कसैलाई भनसुन गर्नु पर्दैन तिम्रो आवश्यकताको महसुस भयो भयो भने तिमीलाई कुरा आइहाल्छ । बुबाका कुराले मलाई आत्मविश्वास त बढायो तर विगतका प्रणालीहरू नजिकबाट बुझ्दा सबै कुरा बुबाले भने जस्तो छैन भन्ने कुराबाट म धेरै कन्भिन्स छु । सायद मेरो अवस्थालाई देखेरै होला केही अनन्य मित्रहरूले तिमी बिचरा आफ्नो पेसा गरेर खाऊ बार नचिहाउ भन्नु भएको होला ।
अबको समय चियाउनै पर्ने समय
जुन ओज हाम्रो बारले धारण गर्ने हो, त्यो ओज लिन सकेको छ भन्ने लाग्दैन । संसारका अरू बारहरू धेरै अगाडि गइसके । प्रविधिको प्रयोगले बार र यसका सदस्यहरूलाई धेरै अगाडि लागिसक्यो । बार समग्रमा कानुन व्यवसायीलाई कसरी सक्षम बनाउने हो, मर्यादित बनाउने हो अनि कसरी कानुनको शासन लोकतन्त्र अनि मानव अधिकारका लागि लड्ने हो भन्ने तिर धेरै अगाडि बढेका छन् । हुन त यी कुराहरू हाम्रो बारको मूल मन्त्र हो । तर के साँच्चै नै हामीले मुलमन्त्रलाई अनुभूति गर्न सकेका छौँ ? के हाम्रो बार ले हामीलाई काबिल बनाउन सकेको छ या काबिल बनाउने अवयवको खोजीमा गम्भीर छ ? यो हामीले सोच्नु पर्ने छ विश्लेषण गर्नु पर्ने छ । धेरै घोत्लिनू नि पर्दैन । बारमा आउनु हुने कानुन व्यवसायी सँग संवाद गरे नि पुग्छ ।अझ नजिक बाट बुझ्ने हो भने भर्खर मात्र ने बा ए को युवा कानुन व्यवसायी सरोकार समितिले युवा कानुन व्यवसायी सम्मेलन मार्फत प्रकाशनमा ल्याएको रिपोर्ट पढे पुग्छ । कति जनाले त्यो रिपोर्ट पढ्नु भएको छ त मलाई थाहा छैन तर मैले अधोपन्त पढेको छु । त्यसको अलावा आई वि ए र ल एसियाका प्रतिवेदनहरू पढेको छु । युवा कानुन व्यवसायी सम्मेलनमा धेरै युवा कानुन व्यवसायिहरुसँग संवाद गरे अनि व्यवसायका धेरै समस्याहरू बुझ्ने मौका मिल्यो । अनि केही गरी बारको चुनावमा उठिएछ अनि जितिएछ भने अबको बारमा हामीले के गर्ने हो भन्ने केही मार्गदर्शन समेत मिले ।
अब हाम्रो बारले गर्ने मूलभूत कुरा के हुन ?
मेरो व्यक्तिगत धारणाले गर्ने त केही होइन तर पनि मैले बुझेका केही कुरा भन्न मन लाग्यो । सब भन्दा पहिले हामीले बारको जिम्मेवारी कस्तो कानुन व्यवसायीहरूलाई दिने ? यो प्रश्न जटिल अनि संवेदनशिल छ । सफल नेतृत्व गर्नेहरूको हकमा त होइन । तर जसले बारमा स्थान पायो उसले के योगदान गर्यो ? यो प्रश्न गम्भीर छ । सक्षम व्यक्ति छ भने जो सुकै हुँदा नि फरक पर्दैन । किनकि बार भनेकै आफ्नो व्यवसायको महत्त्वपूर्ण समय कानुन व्यवसायीको समग्र हित का लागि खर्चिने हो । हरेक कानुन व्यवसायी यो जिम्मेवारी लिन न तयार हुन्छ न सक्छ । जिम्मेवारी गहन कुरा हो । कसैले जिम्मेवारी लिन्छु भन्नु नै ठुलो कुरा हो तर के लिन्छु भन्नेले निभाउन सक्छ त्यो महत्त्वपूर्ण छ । हाम्रो नेतृत्वले धेरै कानुन व्यवसायीको प्रयोग गर्यो, धेरै पदमा तर के उहाँहरूले आफ्नो जिम्मेवारी ३ वर्ष निभाउन सक्नु भयो ? उहाँहरू कुनै न कुनै नाता सम्बन्धबाट बारमा अवसर पाउनु भयो, तर के त्यो अवसरको सदुपयोग गर्नु भयो ? यो प्रश्न गम्भीर छ । अब यसको समीक्षा हुन जरुरी छ । करिब २३ हजार कानुन व्यवसायी भई सके । बार धेरै ठुलो छ। प्रतिस्पर्धा धेरै छ । अब के पुरानै पारामा हामीले नेतृत्व चयन गर्दै जाने हो र ? यसलाई सोच्नै पर्ने छ।
बारलाई आर्थिक हिसाबले सम्पन्न गर्नु पर्ने
बारको भिजन आधुनिक भए पनि बारको संयन्त्र कमजोर छ । बार भित्र जम्बो टोली हुँदा समेत बार बाहिरकाले सहयोग गरेनन् भने बारका धेरै क्रियाकलाप धरापमा पर्दछन् । एउटा कुरा पक्का के छ भने आगामी बारले ठुलो आर्थिक सङ्कट व्यहोर्ने वाला छ । आज सम्म बारले आफ्नो खर्चमा कानुन व्यवसायीलाई पठाउन सकेको छैन । कमसेकम पेसामा तल्लीन उज्ज्वल भविष्य भएका युवा कानुन व्यवसायीलाई पठाउन सक्नु पर्छ । बारले आर्थिक स्रोत की जुटाउनु पर्छ कि खोजिदिने काम गर्नु पर्दछ । हाम्रो जस्तै बार अन्य देशमा धेरै धनी छन् तर हाम्रो बार जस्तो शक्तिशाली छैन न । बारमा आएको कति अवसर बार कै सदस्य भन्दा बाहिर गएको देखिँदैन । बारको एक बोली र प्रस्तावमा सहयोग गर्नेहरू तत्पर हुन्छन् तर त्यसका लागि बारका तर्फबाट वार्तालाप गर्न सक्ने नेतृत्व चाहिन्छ, नेगोसियसन गर्न सक्ने व्यक्तित्व चाहिन्छ, बारलाई के चाहिएको छ बुझ्न सक्ने व्यक्ति चाहिन्छ । अबको बारमा विदेशी सहयोगको सम्भावना न्यून छ । बारले आन्तरिक स्रोत खोज्न सक्ने व्यक्तिलाई ल्याउन सकेन भने बारलाई मात्र होइन कानुन व्यवसायीलाई समेत दूरगामी असर पर्न जान्छ। यसका लागि बारले सम्मेलनहरू गर्न सक्नु पर्दछ। सम्मेलन भनेको संसार भर आर्थिक स्रोत जुटाउने साधन हो ।
साँच्चै नै बारमा योगदान गरेर बारलाई सहयोग गर्छु भन्ने उत्कण्ठा बोकेका धेरै बारको भविष्य कोर्ने को घेरा बाहिर नै हुन्छन् । अब हामीले त्यो घेरा बाहिर निस्कनै पर्दछ । हाम्रो नेतृत्व अब उदार हुनै पर्दछ । दूरदर्शी हुनै पर्छ । नत्र हामी जस्ता धेरै कानुन व्यवसायी बार बाट टाढा हुनेछन् ।
बारले इकाई बारलाई समृद्ध गर्नु पर्ने
नेपाल बारमा कहिले काहीँ जाँदा देखिने कुरा के हो भने इकाई बारका नेतृत्वहरू बार भवन निर्माणका लागि सहयोग माग्ने। कानुन व्यवसायीको सहयोगले इकाई बारको दूरगामी अवस्था तय हुन सक्दैन । प्रत्येक जिल्लाहरू सङ्घीय संरचनाले अटोनोमी छन्। जिल्ला भित्र धेरै उद्योग कल कारखाना छ न, सेवा दिने प्रतिष्ठानहरू छन् अनि कानुनले पनि नव्यवसायीक प्रतिष्ठानहरूलाई मुनाफाको केही रकम सामाजिक कार्यमा अनि भौतिक निर्माणमा सहयोग गर्ने स्रोत राख्दछन् । ती स्रोतहरूमा बार इकाईहरूको पहुँच भएको देखिँदैन । ती स्रोतले विभिन्न कानुनी कार्यशाला गोष्ठी सम्मेलन गर्न सक्छन् । त्यहाँबाट राम्रो आर्थिक स्रोत जम्मा हुन्छ । त्यो स्रोत ने बा ए लाई मात्र होइन सब इकाईलाई मिल्छ यदि इकाईहरूले साँच्चै नै समन्वय गर्न सके भने। ने बा ए ले यो कार्यमा बलियो सहयोग गर्न सक्छ । जुन भएको देखिँदैन । अबको बारले आफ्नो मात्र होइन इकाईको सक्षमतामा गम्भीर ध्यान दिन सकेन भने अन्ततोगत्वा न्याय माथि नै पहुँच पुग्न गारो हुन्छ
युवा कानुन व्यवसायीलाई अवसर खोज्ने
केही दिन देखि धेरै युवा कानुन व्यवसायीले मलाई मेसेज मार्फत सोधेको कुरा के हो भने भर्खर आई बी ए ले ३५ वर्ष मुनिका कानुन व्यवसायीलाई फेलोसिपको लागि आव्हान गरेको छ क्यानडाको वार्षिक सम्मेलनलाई । त्यो कसरी प्राप्त गर्ने । हुन त आई वि ए ले त्यो संसार भरीका आवेदन मार्फत छान्ने हो तर त्यसका लागि हाम्रो जस्तो आर्थिक अवस्थाले कमजोर देशका कानुन व्यवसायीलाई त्यो सुविधाका केही हिस्सा माग्ने हो भने नमिल्ला भन्ने सकिन्न । हिजोका दिनहरूमा हामीले त्यो सुविधा माग्दा ५ जना युवा कानुन व्यवसायी अस्ट्रेलियाको सम्मेलनमा पुगेर आइसकेका कुरा मैले अघिल्लो पोस्टहरूमा भनी सकेको छु । ने बा ए ले संसारका धनी बारहरूसँग सहकार्य र समन्वय गरी युवा कानुन व्यवसायीलाई त्यो अवसर ल्याउन सक्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु।
व्यावसायिक आचरणको निगरानी गर्नु पर्ने
व्यावसायिक आचरण खस्किँदै गएको देखिन्छ । न्यायमा बिचौलियाको प्रभाव कम छैन । तर बारले यो विषयमा धेरै चासो राखेको देखिँदैन । थोरै बिचौलियाका कारण धेरै कानुन व्यवसायी प्रभावित भएका छन् । व्यावसायिक मर्यादा माथि आउला उठाउनेहरू दिन दिनै बढेको देखिन्छ । अबको बारमा हामीले मतदान गर्दा कमसेकम यसका लागि लड्ने साहस भएका कानुन व्यवसायी पठाउनु आवश्यक छ । कानुन व्यवसायी गलत कामको मूकदर्शक हुन सक्दैन । जो हुन्छ उ कानुन व्यवसायी हुन सक्दैन हुन्छ त केवल कानुन र न्यायको व्यापारी ।
कानुनको शासनका लागि कम्प्रोमाइज नगर्ने बार
बारले आफ्नो मूल मन्त्र कानुनको शासनलाई देखिने गरी अङ्गीकार गर्नु हो। विधानको कालो अक्षरमा कानुनको शासनलाई बन्दी बनाउनु लोकतन्त्रलाई खतरा हो । समय समयमा बारले आफ्नो पोजिसनलाई राजनैतिक दलको पोजिसनमा राख्नुले बारको महिमा र गौरवमा धक्का लागेको छ । फरक फरक बार इकाईहरूका फरक फरक मत र वक्तव्यले बार कमजोर भएको छ। हामी सबै बारको चुनाव उठ्दा एउटा राजनैतिक दलको आस्थाबाट प्रेरित भई मत माग्ने गर्छौ तर बारमा गएपछि त्यो आस्थाले जकडिएको पाउँछौ । त्यो गलत हो। बार जहिले स्वतन्त्र र सार्वभौम हो तसर्थ संसार भारी बारलाई बौद्धिक प्रतिपक्षीको रूपमा हेरिन्छ । हामी बोलीचालीमा त स्थायी प्रतिपक्ष भन्छौ तर के व्यवहारमा देखाउन सकेका छौँ । भए जस्तो लाग्दैन । अबको बारमा हामीले चुन्ने व्यक्ति भनेको आफूलाई जे जस्तो परिस्थिति र दबाब होस बारलाई बौद्धिक प्रतिपक्षमा डाउन सकिने व्यक्ति निर्वाचित गर्नु पर्ने छ ।
न्याय माथिको पहुँच पुर्याउनु पर्ने प्रो बो नो लाई सन्थागत गर्नु पर्ने
बारले गर्ने विविध काम भनेको न्याय माथिको पहुँच सुनिश्चित गर्नु हो । बारले त्यसलाई प्रभावकारी रूपमा गर्न सकेको देखिँदैन । बारले सो का लागि न्यायपालिकासँग गम्भीर संवाद गर्न सक्नु पर्छ । न्याय माथि कसैले खेलबाड गर्न नसक्ने गरी न्यायमा पहुँचको सुनिश्चितता गर्नु पर्दछ । न्याय माथिको पहुँचको आधार शिला भनेको प्रो बोनो सेवा हो । अनिवार्य प्रो बनो गर्न सकिएला नसकिएला तर सो सेवाको महत्त्व र सेवा सहज रूपमा दिन सक्ने वातावरण निर्माण गर्नु पर्दछ । अबको बार के प्रो बो नो सेवा कानुन व्यवसायीले मात्र नभई ल फर्म हरूले गर्नु पर्ने व्यवस्था गर्न जरुरी छ ।
न्यायपालिकासँग आमने सामने गर्न सक्ने
बार र बेन्च एक अर्काका परिपुरक हुन् । अदालत जति कानुन व्यवसायी प्रति अनदेखा गर्दछ उति न्याय सङ्कटमा पर्दछ । अदालत आफैले मुद्दा लड्ने अनि फैसला गर्ने काम गर्न सक्दैन । त्यस्तो हुन्थ्यो भने वकिलको जन्म नै हुन्थेन । अदालतले सब बुझ्ने अनि न्याय गर्ने काबिलियत राख्ने हो भने हामी कानुन व्यवसायी अर्कै पेसामा लागे हुन्छ । त्यो असम्भव हो । न्यायको खोजी गर्ने मात्र होइन अदालतलाई न्याय गर्न सजिलो बनाउने भनेको कानुन व्यवसायी नै हुन् । तर कानुन व्यवसायीले अदालतलाई आफ्नो परिश्रमले चित्त बुझाउन सकेनन् भने अन्याय हुन जान्छ। फैसलामा न्याय परेन भने त्यो फैसला कागजको खोस्टा मात्र हुन्छ । इजलासमा बस्ने न्यायमूर्ति स्वतन्त्र छ भन्ने मानिन्छ । उसको स्वतन्त्रताको परीक्षा मुद्दामा गरेको फैसलाले देखाउने हो । त्यो फैसला केवल कानुन व्यवसायीको सहयोग र तर्कले मात्र सम्भव छ ।।तसर्थ अदालतले कानुन व्यवसायी माथि हेर्ने दृष्टिकोणमा अलिकति पनि बेवास्ता गर्यो भने अदालतको एकल अस्तित्व सम्भव छैन । त्यसैले अदालतलाई सक्षम बनाउने हतियार केवल कानुन व्यवसायी हो । तर हामीले अनुभूति गरेको कुरा के हो भने न अदालतले कानुन व्यवसायीलाई न्यायको पहरेदारको रूपमा हेर्छ न कानुन व्यवसायीले न्याय मूर्तिलाई न्यायको प्रतिमूर्तिको रूपमा हेर्छ । यो खाडल गहिरिँदै छ । तसर्थ अबको बारले यो खाडललाई पुर्न पर्दछ र अदालतलाई मर्यादित व्यवसाय कायम गरी सचेत गर्न सक्नु पर्छ । आभास दिलाउन सक्नु पर्दछ कि कानुन व्यवसायी अदालतको सम्मान बढाउन सक्ने साधक हुन अनि परिपूरक । कानुन व्यवसायी न्यायपालिकाका बौद्धिक प्रतिपक्ष हुन अनि न्याय सम्पादनमा समान हैसियत राख्दछन् । आमेन सामने बस्ने अनि न्यायका लागि कर्तव्य र जिम्मेवारी आफ्नो भूमिका अनुसार बेखुबीले निभाउन सक्छन् । अबको बार त्यसैले सक्षम जिम्मेवार अनि व्यावसायिक बार चाहिएको छ अनि न्याय पालिका सहनशील, स्वतन्त्र अनि विश्वासिलो चाहिएको छ । बितेका घटनाक्रमलाई मेटाउँदै, हटाउँदै अनि थन्काउँदै नयाँ चिराबाट हिँड्ने अदालत अनि बार चाहिएको छ । त्यो गर्न सक्ने दृढ सङ्कल्प र विश्वासको बार चाहिएको छ ।

अन्तमा
धेरै कुरा छन् लेख्नु पर्ने । धेरै कुरा छन् सुनाउनु पर्ने । धेरै कुरा छन् आग्रह गर्नु पर्ने । धेरै कुरा छन् विश्लेषण गर्नु पर्ने । तर अब समय थोरै छ । २/४ दिन मा हाम्रो व्यावसायिक संरक्षण गर्ने बारको विभिन्न पदहरूमा उम्मेदवार तय हुनेछन् । अनि १ महिनामा देशव्यापी चुनाव हुनेछ । हाम्रा साङ्गठनिक अग्रजहरू उम्मेदवार निर्क्योल गर्न लाग्नु भएको छ । मेरो उहाँहरूलाई के अनुरोध छ भने अब तपाईँहरू फरक बार तयार गर्ने अभियानमा लाग्नु पर्ने छ भन्ने लाग्दछ । फेरि पनि उस्तै गर्ने हो भने केही सम्भव छैन । न बारको सम्मान सम्भव छ न मर्यादित व्यवसाय न सक्षम कानुन व्यवसायी । न कुशल नेतृत्व सम्भव छ न परिवर्तन ल्याउन सक्ने व्यवसायी ।
मलाई नै मैले खोजेको जिम्मेवारी दिनुहोस् म परिवर्तन गर्न सक्छु भनेर यो लेख मार्फत उद्घोष गर्न खोजेको होइन । त्यो सम्भव पनि छैन । मैले त केबल अब के गर्नु पर्छ भनेर सोचेको र सङ्कल्प लिएको कुरा पस्केको हो । तर असम्भव कुराको खात भने थुपारेको पक्कै होइन । असम्भव केही छैन । बस अलि फरक तरिकाले जाने बार खोजेको हो । मैले दृढ सङ्कल्प सहित विश्वास, आँट, इमानदारिता र व्यावसायिकता मार्फत महासचिव पदको जिम्मेवारी निभाउन चाहेको हो । मैले चाहेको पदमा धेरै जिम्मेवार कानुन व्यवसायीहरू हुनुहुन्छ । उहाँहरू सक्षम र नेतृत्वदायी भूमिका खेली सक्नु भएको छ । तर पनि कुरा के हो भने अबको बार बेग्लै बार हुनु पर्दछ । अबको छनौट दूरगामी सोचले हुनु पर्दछ । जसले जिम्मेवारी पाउँछ त्यसलाई बेखुबी निभाउन सक्नु पर्दछ । पद चाहने अधिकार सबको हो । केवल अहिलेको समयले कस्तो बार खोजेको छ अनि कसको आवश्यकता खोजेको छ त्यसको पहिचान व्यक्तिगत आग्रहबाट निस्की निष्पक्ष, स्वतन्त्र, पारदर्शी अनि व्यावसायिकता र कार्यदिशाको प्रस्तुतीकरण र व्यवहारिकताबाट प्रस्ट देखिने गरी हुनु पर्दछ भन्ने हो । किनकि नेतृत्व छनौट गर्नेको पोल्टामा बारको भविष्य डोर्याउन सक्ने कानुन व्यवसायीका प्रतिनिधिलाई निर्वाचित बनाउने जिम्मेदारी छ । सफल भए जस पाउने पदाधिकारी निर्णायक समिति नै हो असफल भए अपजस बोक्ने त्यही समिति हो ।
समितिले चाहेमा यस पटकको जिम्मेवारी बेखुबी निभाउने प्रण तस्बिरको भवनलाई अनि ने बा ए को विधानलाई साक्षी राखी अनुरोध गरेको छु । बस अबको तीन वर्ष केबल बार अनि कानुन व्यवसायीलाई, मर्यादित पेसालाई ।