पाँचथर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वविशिष्ट व्यक्तिहरूलाई सरकारले दिने अनावश्यक सुविधाहरू रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।
शनिबार पाँचथरमा आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्बाट मनपरी निर्णय गरी पूर्वविशिष्टहरूलाई सुविधा दिने प्रवृत्ति बन्द हुनुपर्ने बताए।
‘पहिले विदेशमा उपचार गराएको भन्दै मनलाग्दी रकम दिने चलन थियो। गाउँका अस्पतालमा चिकित्सक अभाव छ, तर ठूला नेताहरू जापान, अमेरिका उपचार गर्न जान्छन्, सरकारले पैसा दिन्छ। म स्वास्थ्यमन्त्री भएका बेला विदेशमा उपचार गर्ने जोसुकैले पनि राज्यबाट रकम नपाउने कानुनी व्यवस्था गरियो,’ थापाले भने।
अब पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसेनापति, पूर्वसभामुखजस्ता व्यक्तिहरूलाई राज्यले न्यूनतम सुरक्षा दिन सक्ने तर अन्य सेवा–सुविधा बन्द गर्नुपर्नेसमेत उनले जोड दिए।
‘राष्ट्रको ढुकुटीमाथि अनावश्यक भार परेको छ। अब यसलाई रोक्न कानुनी व्यवस्थामा स्पष्टता ल्याउनुपर्छ,’ थापाले भने।