काठमाडौं । उपभोक्ता अदालत सञ्चालनमा आएको पहिलो दिन तीनवटा मुद्दा दर्ता भएका छन्। मेडिकल लापरबाहीका कारण बिरामीको मृत्यु, गहना पसलबाट ठगी, र गाडी मर्मतमा अनियमितता सम्बन्धी उजुरीहरू परेका हुन्।
पहिलो मुद्दामा बुढानीलकण्ठका ९८ वर्षीय हरिहरप्रसाद गौतमको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको भन्दै उनका छोरा वसन्त गौतमले त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा उजुरी दायर गरेका छन्। चाबहिलस्थित ओम अस्पतालले एक्सरेको सही अध्ययन नगरी बिरामीलाई डिस्चार्ज गरेको, जसका कारण अवस्था जटिल बन्दै गएर मृत्यु भएको दाबी गरिएको छ। उनले अस्पताल र चिकित्सकमाथि पाँच करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्।
दोस्रो मुद्दा ललितपुरकी सावित्री खत्रीले दायर गरेकी छन्। उनले विशालबजारस्थित स्वस्तिक सिल्भर प्यालेसबाट साढे चार हजार रुपैयाँमा चाँदीको मूर्ति किनेपछि सात दिनमै फिर्ता गर्न जाँदा पसलले मूल्यमा दुई हजार ३७५ रुपैयाँ कटौती गरेर आफूलाई ठगी गरेको गुनासो गरिन्।
तेस्रो मुद्दा सुनसरीका रामसागर यादवले गाडी मर्मतका क्रममा ठगिएको भन्दै दायर गरेका छन्। उनले डल्लुस्थित सुजुकी सर्भिस सेन्टरले अनुमति नलिई इन्जिन खोलेर हानि पुर्याएको, लामो समय मर्मत नगरेको, र बिल नदिएको आरोप लगाउँदै ७७ लाख ७२ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
नयाँ सञ्चालनमा आएको उपभोक्ता अदालतले यी मुद्दाहरूलाई कसरी समाधान गर्छ भन्ने चासो बढेको छ।