काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा सरकारसँग कारण माग गरेको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पछि सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
पूर्वसचिव डा.रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । फागुन २१ गते मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरेको भन्दै डा. मिश्राले चैत १ गते सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
मिश्राको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चले कारण देखाउ आदेशसँगै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ ।