काठमाडौँ । विद्यालय शिक्षा विधेयक–२०८० माथि दफावार छलफल सुरु भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आजदेखि विधेयकको प्रस्तावनामाथि छलफल सुरु भएको हो ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य र निःशुल्क शिक्षाको मर्मलाई विधेयकको प्रस्तावनाले समेट्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय शिक्षा सुधार गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । हाल शिक्षक र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी विधेयक बनाउनुपर्नेमा उहाँको जोड थियो ।
छलफलमा समिति सदस्य दीपा शर्माले विद्यालय शिक्षालाई व्यहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै, सदस्य चन्द्र भण्डारीले संविधानले तोकेको निःशुल्क र अनिवार्य शिक्षालाई विधेयकमा समेट्नुपर्ने बताउनुभयो । सदस्य डा तोसिमा कार्की, सुमना श्रेष्ठ, सरिता भुषाललगायतले विधेयकको सार संक्षेपलाई प्रस्तावनामा समेट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले निःशुल्क र अनिवार्य शिक्षाको मर्मअनुसार समाजवाद उन्मुख, समान पहुँच र भेद्भावरहित शिक्षाका लागि संविधानको दफा नै उल्लेख गरेर प्रस्तावना संशोधन गरिनुपर्ने संशोधन प्रस्ताव पेस गर्नुभयो ।
समितिका सभापति अमरबहादुर थापाले विधेयकमाथि दैनिक दफावार छलफल हुने जानकारी दिनुभयो । उहाँले कार्यतालिका बनाएर अघि बढ्ने र एक महिनाभित्र समितिबाट विधेयक पारित गर्ने गरी छलफल गरिने बताउनुभयो ।
बैठकले विधेयकका अन्य बुँदामा छलफल गर्दै जाने र प्रस्तावनालाई अन्तिममा टुग्याउने निर्णय गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिनुभयो ।