काठमाडौं, चैत्र ५ – नेपाल बार एसोसिएसनको निर्वाचन समितिले आसन्न निर्वाचनका लागि मतदान अधिकृत मनोनयनको प्रक्रिया अघि बढाएको छ। आगामी चैत्र २३ गते हुन गइरहेको बार एसोसिएसनको कार्यसमितिका लागि निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रहरुमा आवश्यक मतदान अधिकृत तोक्ने कार्य अघि बढाइएको हो।
निर्वाचन समितिले मतदान अधिकृत मनोनयनका लागि सम्बन्धित निकायलाई जानकारी गराउँदै तीन दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। मतदान अधिकृतका रूपमा तोकिएका व्यक्तिहरूले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, बैङ्क खाता विवरण लगायतका जानकारी उपलब्ध गराउनुपर्नेछ।
निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई पारदर्शी र मर्यादित बनाउन मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने भन्दै तोकिएका व्यक्तिहरूले जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्न आग्रह गरेको छ। आवश्यक विवरण [email protected] मा पठाउन सूचित गरिएको छ।
यसैबीच, निर्वाचन समितिले निर्वाचन कार्यलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षसँग सहकार्यको अपील गरेको छ। निर्वाचन निर्देशिका २०७८ तथा निर्वाचन आचारसंहिता २०७८ अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने समितिले स्पष्ट पारेको छ।