अधिवक्ता परीक्षाका तयारी कक्षामा बार काउन्सिलकै पार्षद सदस्यको सहभागिता, उठ्यो नैतिक प्रश्न

काठमाडौं । नेपाल बार काउन्सिलद्वारा हालै सम्पन्न ३२औँ तहको लिखित परीक्षा पास गरेका परीक्षार्थीहरूका लागि आयोजित बहसकला प्रशिक्षण कार्यक्रममा नेपाल बार काउन्सिलकै पार्षद सदस्यको सहभागिताले नैतिक प्रश्न उठाएको छ। लेक्स नेपाल इन्स्टिच्युट अफ ल द्वारा आयोजित सो कार्यक्रममा नेपाल बार काउन्सिलका पार्षद तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालको उपस्थिति विवादको विषय बनेको हो।

बरिष्ठ अधिवक्ता खनाल हालै सम्पन्न नेपाल बार काउन्सिलको निर्वाचनमा पार्षद पदमा विजयी भएका थिए। उनी अधिवक्ता परीक्षाका अन्तर्वार्ता सञ्चालन गर्ने प्रक्रियासँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यक्ति भएकाले परीक्षार्थीहरूलाई बहसकलाका लागि निर्देशित गर्ने कार्यक्रममा उनको उपस्थिति स्वाभाविक रूपमा निष्पक्षताको प्रश्न खडा गर्छ।

नेपाल बार काउन्सिल स्वयं परीक्षा सञ्चालन गर्ने निकाय भएकाले सो निकायका नीतिनिर्माण तहका सदस्यहरूले कुनै पनि तयारी कक्षा वा प्रशिक्षणमा सहभागिता जनाउनु नैतिक रूपमा उचित ठहरिँदैन। यसले परीक्षार्थीहरूबीच पक्षपातको सम्भावनाबारे आशंका जन्माउन सक्छ र कानुनी पेशाको नैतिक मापदण्डमाथि गम्भीर प्रश्न उठाउँछ।

यस घटनासँग सम्बन्धित सरोकारवाला निकाय तथा नेपाल बार काउन्सिलले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक देखिन्छ। यस विषयमा बुझन कानुन खबरले बरिष्ठ अधिवक्ता खनालाई पटक पटक सम्पर्क गरेको थियो तर उहाँसँग सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज