पार्षद खनालको स्पष्टोक्ति: मैले बार काउन्सिल परीक्षा सम्बन्धी कुनै प्रशिक्षण दिएको छैन 

काठमाडौं । नेपाल बार काउन्सिलका पार्षद तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालले लेक्स नेपाल इन्स्टिच्युट अफ ल द्वारा आयोजित ३२औँ तहको लिखित परीक्षा पास गरेका परीक्षार्थीहरूका लागि आयोजित बहसकला प्रशिक्षण कार्यक्रममा आफनो सहभागिता नरहेको स्पष्टोक्ति दिएका छन् । गत शनिवार इन्स्टिच्युटले सामाजिक सञ्जाल फेसबुकमा बहसकला प्रशिक्षण कार्यक्रममा उपस्थिती जनाएर परिक्षार्थीहरुलाई प्रभावकारी प्रशिक्षण गराइदिनु भएको भन्दै बार काउन्सिलका पार्षद तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालसहितको नाम र कार्यक्रमको तस्विर सार्वजनिक गरेको थियो ।

सोही विषयमा कानुन खबर डटकमले अधिवक्ता परीक्षाका तयारी कक्षामा बार काउन्सिलकै पार्षद सदस्यको सहभागिता, उठ्यो नैतिक प्रश्न भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनमा आएपछि बार काउन्सिलका पार्षद तथा वरिष्ठ अधिवक्ता खनाल आफू प्रशिक्षण कार्यक्रमा सहभागि नभएको बताएका थिए । उनले इन्सिच्युटले कानूनी अध्ययन सामग्रीहरू सर्वसुलभ र निःशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यसहित मोबाइल एप्लिकेशनको शुरुवातका लागि आफूलाई आमन्त्रण गरेको र सोही कार्यक्रमका लागि आफू त्याहाँ उपस्थित भएको बताए । उनले आफूले प्रशिक्षण नदिएको र मोबाइल एप्लिकेशनको लागि शुभकामना मन्तव्य मात्र दिएको उल्लेख गरेका छन् ।

पार्षद् खनालले कानून खबर अनलाइनको समाचारले आफ्नो ध्यान आकृष्ट गरेको भन्दै लेखेका छन्, प्रथमतः कानुन व्यवसायीको परीक्षा  निष्पक्ष,मर्यादित र निर्विवादित होस् भनी अनलाइन परिवारले उठाएको वैध अपेक्षा र सरोकारको प्रशंसा गर्दछु ।

यसमा खास विषय के हो भने लेक्स नेपाल इन्स्टिच्युट अफ ल ले संविधान, कानून, नजिर, राजपत्र , महत्त्वपूर्ण फैसला लगायत गहन प्रकृतिका कानुन र न्याय विषयक अध्ययन सामग्रीहरू समयमा सबैमा उपलब्ध नहुने र भए पनि महँगो हुने कारण विद्यार्थी, प्राध्यापक, कर्मचारी र कानून व्यवसायी एवं न्यायकर्मीहरूलाई निशुल्क उपलब्ध गराउने उदेश्यले Mobile Application आरम्भ गर्न खोजिएको हो ।

कार्यक्रमको  उद्घाटन निम्ति मलाई आमन्त्रित गरिएको कारण म उद्घाटन सत्रमा उपस्थित भई सहभागीहरूलाई शुभकामनासम्म दिएको हुँ। समयाभावले उक्त दिन एप्लिकेसन लन्च गर्न  सकिएन र भोलिपल्ट बिहान एघार बजे  लन्च गीरयो ।  मैले बार काउन्सिलले लिने परीक्षा सम्बन्धी  विषयमा प्रशिक्षण गरेको समेत केही होइन ।  परीक्षामा आँच आउने क्रियाकलाप मबाट  भएको छैन र हुने पनि छैन । मेरो उपस्थितिले परीक्षार्थी एवं सरोकारवालाहरूमा कुनै भ्रम नपरोस् भनी अनुरोध गर्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज