योङ लयर्स एसोसिएसनले प्रिसिडेन्सियल डिबेट कार्यक्रम आयोजना गर्ने

काठमाडौं । आसन्न नेपाल बार एसोसिएसनको चुनावलाई लक्षित गर्दै योङ लयर्स एसोसिएसन अफ नेपाल ले प्रिसिडेन्सियल डिबेट कार्यक्रम आयोजना गर्ने भएको छ। न्यायिक उत्तरदायित्वसहित बलियो र सुदृढ नेपाल बार एसोसिएसन निर्माणका लागि नेतृत्वको भूमिकाबारे खुला छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको हो।

संस्थाका उपाध्यक्ष अधिवक्ता दिपकराज जोशीका अनुसार, कार्यक्रम काठमाडौंको कार्की ब्याङ्क्वेट, बबरमहलमा आइतबार बिहान ११:३० बजेदेखि ३:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा न्यायिक रूपमा उत्तरदायी नेतृत्व:बलियो र सुदृढ नेपाल बार एसोसिएसनकोलागि भन्ने विषयमा छलफल हुनेछ।

डिबेटमा वरिष्ठ अधिवक्ता रामन कुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता डा. बिजय प्रसाद मिश्रले आफ्नो धारणा र भावी योजना प्रस्तुत गर्नुहुनेछ। कार्यक्रमको मोडरेटरको भूमिकामा योङ लयर्स एसोसिएसन अफ नेपालका महासचिव अधिवक्ता अभेष अधिकारी रहनेछन्।

कार्यक्रमले कानूनी समुदायका सदस्यहरूलाई उम्मेदवारहरूको एजेन्डा, प्राथमिकता, र नेपाल बार एसोसिएसनलाई सुदृढ बनाउनका लागि प्रस्तुत प्रतिबद्धता बुझ्न सहयोग पुर्याउने संस्थाका उपाध्यक्ष अधिवक्ता जोशीले बताए।

योङ लयर्स एसोसिएसन अफ नेपाल ले सम्पूर्ण कानूनी व्यवसायी, कानूनी अभ्यासमा रुचि राख्ने व्यक्ति तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज