राजावादी आन्दोलनको क्रममा अधिवक्ता स्वागत नेपालको गिरफ्तारीप्रति आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । शुक्रबार राजावादीहरुको आन्दोलनको विषयलाई लिएर अधिवक्ता स्वागत नेपाललाई प्रहरीले आफ्नै कार्यालयबाट पक्राउ गरी थुनामा राखेको घटनाप्रति नेपाल बार एशोसिएसनका अध्यक्ष पदका उम्मेदवार अधिवक्ता आशिष पौडेलले गम्भीर आपत्ति जनाएका छन्।

पौडेलले उक्त घटनालाई कानूनी शासन, स्वतन्त्र न्याय प्रणाली र कानूनी व्यवसायीको पेशागत सम्मानमाथिको गम्भीर आक्रमण भएको बताएका छन्। उनले कानूनी व्यवसायीहरू न्यायकै संरक्षक भएको भन्दै उनीहरूलाई दमन गर्नु अत्यन्त आपत्तिजनक र खतरनाक प्रवृत्ति भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको “Basic Principles on the Role of Lawyers 1990” अनुसार, कानून व्यवसायीलाई स्वतन्त्र रूपमा आफ्नो पेशागत कर्तव्य निर्वाह गर्न अनुमति दिनुपर्ने र राज्यले हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन हुने भन्दै पौडेलले सरकारको आलोचना गरेका छन्।

नेपाल बार एशोसिएसन र मानव अधिकार आयोगले अधिवक्ता स्वागत नेपालको अविलम्ब रिहाइको माग गर्दै, यस्तो गतिविधि कानून व्यवसायीहरूको स्वतन्त्रता र सुरक्षामाथि हमला भएको स्पष्ट पारेका छन्।

अधिवक्ता आशिष पौडेलले सम्पूर्ण कानूनी समुदायलाई एकजुट भई कानूनी अधिकार र स्वतन्त्र न्याय प्रणालीको पक्षमा उभिन आह्वान गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज