काठमाडौं । काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा लाखौँको जरिवानासहित पत्र काटेकाे छ । तीनकुने विध्वंशमा पूर्वराजा ज्ञानेन्द्र शाहकलाई दोषी देखाउँदै करिब ८ लाख तिराएको महानगरले समाजवादीलाई भने कुनै जरीवाना नै गरेन ।
शुक्रबार नै समाजवादी मोर्चाको पनि प्रदर्शन थियो। जसमा हजारौँ मानिस आएको गृह मन्त्रालयको आकलन छ।बालेन्द्रले सो कार्यक्रम आयोजक मोर्चालाई जरिवाना तिराएनन्। बालेन सचिवालयका ती सदस्यका अनुसार, मोर्चाले आयोजक किटान गरेर पहिल्यै पत्र पठाएर कार्यक्रम सकिएपछि आफै सफा गर्ने प्रतिबद्धता जनाएको थियो।
‘कार्यक्रम सकेपछि आयोजकले नै सरसफाइ गरेछन्,’ उनले भने, ‘गाडी पठाइदिनू भनेर महानगरलाई औपचारिक पत्र पनि पठाएका थिए। हामीले सहजीकरण गर्यौँ। सरसफाइ भयो। महानगरले आफ्नो क्षेत्रमा फोहोर मैला, संरचनामा क्षति पुगेमा जरिवाना गर्ने हो। समाजवादी मोर्चाले कार्यक्रम सकेपछि सबै पहिलाकै जस्तो अवस्था बनाइदियो। यतिसम्म कि सो क्षेत्रमा रहेका कुनै वस्तुमा पनि असर परेको थिएन। हाम्रो उद्देश्य जरिवाना होइन, सहरको सौन्दर्य र सम्पदाको सुरक्षा हो।’
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनको मुख्य योजनाकार र दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको ठहर गरेका छन्।
उनले शाहलाई सोवापत् ७ लाख ९३ हजार रुपैयाँ जरिवाना नै तोकेका छन्। जरिवाना तोकेर पत्र निर्मल निवास पठाएका छन्।
उनको यस कदमलाई लिएर पक्ष र विपक्षमा जनमत बाँडिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले गणतन्त्रको सौन्दर्यका रुपमा अर्थ्याएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ, महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र शाहले काठमाडौंका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन्। यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई जरिवाना तोक्नुलाई ‘स्टन्ट’ भनी टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। गलत ठेगानामा पठाइएको पत्रजस्तो स्टन्ट भयो। मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होलारु म अलमलमा छु।’
तीनकुनेमा शुक्रबार गरिएको राजावादी प्रदर्शनको मुख्य आयोजक ज्ञानेन्द्र भएको महानगरले ठहर गरेको छ। त्यही कारण घटनाको दोषीलाई जरिवाना गरिएको बालेनको सचिवालयका एक सदस्यले बताए।
उनका भनाइमा त्यहाँ कुनै संगठित दल वा दर्तावाल संस्थाले कार्यक्रम आयोजना गरेको थिएन।
यो कार्यक्रम आयोजना गर्नुभन्दा केही दिनअघि मात्र पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो। तर शुक्रबारको कार्यक्रमको कमान्डर भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तोकिएका थिए।