काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो आधिकारिक डोमेन www.nrna.org सँग मिल्दोजुल्दो वेबसाइट तथा माध्यमहरू प्रयोग गरी केही समूहहरूले सदस्यता वितरणको नाममा अनधिकृत गतिविधि गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै www.nrna.org नै एक मात्र आधिकारिक डोमेन रहेको प्रस्ट पार्दै अन्य अनधिकृत वेबसाइट वा स्रोतहरूबाट गरिएका गतिविधिहरूप्रति सचेत रहन आग्रह गरेको छ। विशेषगरी, संघको सदस्यता व्यवस्थापन प्रणाली व्यवस्थापन सूचना प्रणाली (MIS) बाट मात्र सञ्चालित हुने भएकाले अन्य माध्यमबाट सदस्यता संकलन गरिएमा त्यसलाई आधिकारिक मान्न नसकिने बताइएको छ।
संघले हाल जारी महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया सम्बन्धी निर्णयहरू संघकै आधिकारिक माध्यमबाट मात्र सम्प्रेषण हुने स्पष्ट पारेको छ। आगामी ११ सेप्टेम्बर २०२५ भित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार सबै प्रक्रिया अघि बढ्ने संघले जनाएको छ।
सदस्यहरूलाई भ्रामक जानकारीबाट जोगिन आग्रह गर्दै संघले आधिकारिक जानकारीका लागि [email protected] मा सम्पर्क गर्न तथा संघको आधिकारिक फेसबुक पेज https://www.facebook.com/NRNAOfficial को अनुसरण गर्न अनुरोध गरेको छ।