काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि नेपाल प्रहरीले सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ।
नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायतका क्षेत्रमा निजी तथा सरकारी सम्पत्ति तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको सम्बन्धमा प्रमाणहरू उपलब्ध गराउन अनुरोध गरेको हो।
प्रहरीले सर्वसाधारणसँग विशेष गरी फोटो, भिडियो वा अन्य विवरणहरू उपलब्ध गराई अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको छ। प्रहरीका अनुसार तोडफोडका क्रममा प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा विभिन्न सवारीसाधनहरूमा क्षति पुगेको छ।
“अनुसन्धानलाई थप प्रभावकारी बनाउन संलग्न व्यक्तिहरूको पहिचान गर्न यहाँहरूसँग भएका फोटो, भिडियो वा कुनै पनि प्रमाणहरू उपलब्ध गराइदिनुहोला,” प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।