राप्रपा सांसद धवलशमशेर र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । तीनकुने घटनासँग जोडिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

राज्यविरुद्धको अपराधको आरोपमा उनीहरूसहित ११ जनामाथि मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले म्याद थप्ने तयारी भइरहेको छ।

ती बाहेक अन्य ३१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा म्याद थपका लागि अदालतमा पेश गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा थप प्रमाण संकलन गर्न सरोकारवालाहरूलाई जाहेरी दिन आह्वान गरिएको छ।

प्रहरीले करिब एक सय जनालाई पक्राउ गरेपछि हाल ४२ जनालाई मात्रै अदालतमा पेश गरी अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेका स्वागत नेपाल लगायत केहीलाई भने हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज