काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको उक्त प्रस्ताव पनि सर्वसम्मत्तिले स्वीकृत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘बैंकिङ् कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देश टेबुल गर्नुभएको हो ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ । उक्त विधेयकमाथि ५० जना सांसदहरुबाट ३६ वटा दफा र दुईवटा अनुसूचीमा १५७ वटा संशोधन परेको सभापति सिंहले बताउनुभयो ।
विधेयक र संशोधनमाथि औपचारिक एवं अनौपचारिक गरी विभिन्न बैठकमा छलफल भएको र विषयविज्ञसँग पनि छलफल भएको उहाँको भनाइ छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ ।
आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभएको थियो ।