काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संसदमा प्रस्तुत हुँदै गर्दा उड्डयन प्राधिकरणका कर्मचारी भने आन्दोलित भइरहेका छन् ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०८१ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ११ दिन देखि प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा छन् । आधिकारिक ट्रेड युनियनले गरिरहेको आन्दोलनलाई अन्य कर्मचारीहरूले समेत साथ दिँदै आएको आधाकारिक ट्रेड युनिका अध्यक्ष सुवाष कोइरालाले बताएका छन् ।
आइतबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बाँध्दै २ बजेसम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका थिए ।
अहिले उक्त विधेयक प्रतिनिधिसभामा पेश भइसकेको छ । आज प्रस्तुत गरेपनि अब संसद्को अधिवेशन बन्द हुने भएकोले बर्खे अधिवेशनमा मात्रै उक्त कार्यसूची अघि बढ्ने देखिएको छ । त्यसो त बर्खे अधिवेशनको अधिकांश समय बजेटसम्बद्ध विधेयकउपर छलफलमा जाने भएकोले यसले लामो समय लाग्ने अवस्था देखिएको छ ।