काठमाडौं। संखुवासभाको पाँचखपन नगरपालिका–६ का भोजराज भट्टराईले अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी साक्षीका रूपमा रहेका भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान उल्टाएपछि अख्तियारले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
मुद्दाका मुख्य प्रतिवादी धनेश्वर प्रसाईंसहित अन्यमाथि भ्रष्टाचार आरोप लागेको थियो। अनुसन्धानका क्रममा भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान अदालतमा उल्टाएपछि अख्तियारले थप अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनले प्रतिवादी प्रसाईंलाई ३ लाख घुस दिएको पुष्टि भएको भन्दै उनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ।
सरकारी साक्षीका रूपमा अदालतमा प्रस्तुत भइ दिएको बयान उल्टाउनु न्यायिक प्रक्रियामै गम्भीर हस्तक्षेप भएकाले भट्टराईमाथि कारबाही अगाडि बढाइएको अख्तियारको दाबी छ।