काठमाडौं । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुरानो निर्देशिका खारेज गर्ने निर्णय गरेको हो।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार जानकारी दिँदै पुरानो निर्देशिका हटाइए पनि नागरिक एपको सेवा भने यथावत् रहने बताए। उनका अनुसार नागरिक एपलाई अझ प्रभावकारी र सहज रूपमा सञ्चालन गर्न नयाँ रूपरेखा अर्थात् ‘दिग्दर्शन’ तयार पारिएको छ।
सञ्चार मन्त्रालयका सहसचिव अनिल दत्तले नागरिक एप सञ्चालनका लागि मन्त्रालयले नयाँ दिग्दर्शन तयार पारेको जानकारी दिए। उनले भने, “मन्त्रालयमार्फत सञ्चालन गर्न सजिलो हुने भएकाले नयाँ दिग्दर्शन ल्याउन पुरानो निर्देशिका खारेज गरिएको हो।”
सञ्चार मन्त्रालयका अनुसार नयाँ निर्देशिका अन्तिम चरणको तयारीमा छ। मन्त्रालयले नै पुरानो निर्देशिका खारेज गरी नयाँ ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो, जसअनुसार सरकारले निर्णय गरेको हो।
नागरिक एपलाई प्रविधिमैत्री सरकार निर्माणको माध्यम बनाउने उद्देश्यले नयाँ संरचना ल्याइएको मन्त्रालयको भनाइ छ।