काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा विभिन्न पेसागत संगठनहरूले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले नगर कार्यपालिकासमक्ष ११ बुँदे मागपत्र प्रस्तुत गरेका हुन्। विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंप्रति नगरप्रहरी प्रमुख पाण्डेले देखाएको व्यवहार आपत्तिजनक भएको उल्लेख गर्दै, उनको निलम्बनसहित सत्यतथ्य छानबिनका लागि तीन दिनभित्र अधिकारसम्पन्न समिति गठन गर्न माग गरिएको छ।
“चैत २१ गते प्रमुख पाण्डेको अगुवाइमा कार्यालयमा भएको अमर्यादित, अनुशासनहीन र गैरकानुनी घटनाको गम्भीर छानबिन गरिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ, “दोषी पाइएको व्यक्तिमाथि कडा कारबाही होस्।”
यस्तै, कानुनी प्रक्रिया नअपनाई बनाइएका समिति, संस्था तथा प्रणालीभन्दा बाहिरका व्यक्तिहरूलाई जागिर दिन बनाइएका संयन्त्रहरू खारेज गर्नुपर्ने माग पनि गरिएको छ।
उक्त ज्ञापनपत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार, र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीको हस्ताक्षर रहेको छ।
यसअघि, गत बिहीबार मेयर बालेन्द्र शाहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो।
महानगर प्रहरी ऐन, २०८० अनुसार, महानगर प्रहरी बलको गठन, रेखदेख र नियन्त्रण सम्बन्धी सम्पूर्ण अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गरिएको छ। ऐनमा उल्लेख छ, “प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालन गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ।”