काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हालै सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका गतिविधिहरू तीव्र रुपमा बढ्दै गएको भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
ब्युरोले एक सूचना जारी गर्दै अनलाइनमार्फत लोभलाग्दो प्रस्ताव देखाएर ठगी गर्ने, विभिन्न लिंक क्लिक गर्न लगाई बैंकिङ वालेट तथा अन्य निजी जानकारी चोरी गर्ने फिसिङ (Phishing) गतिविधिमा संलग्न व्यक्तिहरूबाट होसियार रहन अपिल गरेको छ।
साइबर ब्युरोका अनुसार यस्ता लिंकमा क्लिक गरेपछि स्मार्ट डिभाइसमा अनधिकृत एप्सहरू इन्स्टल भएर गोप्य जानकारीहरू चोरी हुने सम्भावना हुन्छ। यस्तै नक्कली “Account Suspend”, “SMS Alert”, “The Alert”, “AT_Alert” जस्ता शिर्षकमा आउने मेसेजहरूमा रहेको लिंकमा क्लिक नगर्न र कसैसँग पनि व्यक्तिगत जानकारी नबाँड्न ब्युरोले सुझाव दिएको छ।
साथै, कुनै पनि अपरिचित एप्स, विशेष गरी ‘.exe’ फाइल इन्स्टल नगर्न, सामाजिक सञ्जालमा आएका सन्देहास्पद म्यासेज वा विज्ञापनलाई क्लिक नगर्न र नचिनेको व्यक्तिको अनुरोधमा निजी विवरण नदिन आग्रह गरिएको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीले हस्ताक्षरित सूचनामा भनिएको छ, “आफ्नो मोबाइल, ल्यापटप तथा अन्य स्मार्ट डिभाइसहरूमा अनधिकृत एप्स इन्स्टल नगर्नु नै साइबर सुरक्षाको मुख्य उपाय हो।”
साइबर सुरक्षाका दृष्टिले सावधानी अपनाउन अनुरोध गर्दै साइबर ब्युरोले आफ्नो आधिकारिक वेबसाइट र इमेल ठेगानामार्फत थप जानकारी लिन सकिने जनाएको छ।