दुर्गा प्रसाईँ भद्रपुरबाट पक्राउ, काठमाडौँ ल्याइँदै

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईँलाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै प्रसाईँ पक्राउ परेको पुष्टि गरेको हो ।
उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । उक्त घटना लगत्तै प्रसाईँ फरार भएका थिए । प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । प्रसाईँ भागेर भारत पुगेका थिए ।
प्रसाईँले हिजो बेलुका आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएका थिए । प्रसाईँसँगै उनका बडीगार्ड दीपक खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ । ‘उनीहरूलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौँ ल्याइने बताइएको छ । उनीहरूलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौँ ल्याउन लागिएको हो ।
प्रसाईँलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । प्रसाईँ भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । यता प्रसाईँको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैँले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज