वीरगञ्जमा कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप

काठमाडौं । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ।

शनिबार साँझ ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म लागू गरिएको कर्फ्यु अझै जारी राख्नुपर्ने निष्कर्षसहित प्रशासनले अवधि थपेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अवस्था पूर्ण रूपमा सामान्य नहुनुले कर्फ्यु थप गर्नु परेको हो।

उनका अनुसार, पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र कर्फ्युको दायरामा पर्नेछ। “आज राति १२ बजेसम्म कर्फ्यु जारी रहनेछ। त्यसपछि अवस्था मूल्याङ्कन गरेर थप निर्णय लिइनेछ,” अर्यालले बताए।

शनिबार अपराह्न विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगञ्ज–२ स्थित श्रीराम हल अगाडि रहेको जामा मस्जिद नजिक पुग्दा दुई समूहबीच झडप भएको थियो।

अवस्था तनावग्रस्त बन्दा प्रहरीले साँझ ५ः४० बजे पाँच राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो। झडपका क्रममा एक मोटरसाइकलमा आगजनी भएको थियो भने एउटा पसलबाट निकालिएको फ्रिज पनि जलाइएको थियो।

घटनाको क्रममा खटिएका ८ जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षा सतर्कता अझै कडा पारिएको प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज