काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनमार्फत प्रदान गर्न सुरु गरेको छ।
सेवाग्राहीले सर्टिफिकेट प्राप्त गर्नका लागि कार्यालयमै उपस्थित हुनुपर्ने अवस्थालाई न्यून पार्नका लागि अनलाइन सेवा सुरु गरिएको हो। यसअघि पनि गत वर्षदेखि अनलाइन सेवा सञ्चालनमा ल्याइएको थियो तर प्राविधिक कारणले निरन्तरता दिन नसकिएकोमा आज वैशाख २ गते बिहान ११ बजेदेखि पुन: सेवा सुचारु गरिएको हो।
विद्यार्थीहरूले अबदेखि student.tuexam.edu.np मा गएर आफ्नो लगइन आईडी प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिँदा अनलाइन शुल्क भुक्तानी, आवश्यक कागजात अपलोड गर्ने, र ‘Submit’ गरेपछि सिस्टमबाट स्वतः एप्लिकेसन स्लिप तयार हुने व्यवस्था गरिएको छ।
यदि आवेदनमा कुनै गल्ती भएमा ‘Correction’ विकल्प प्रयोग गरेर सुधार गर्न सकिनेछ। सेवा सहज र प्रभावकारी बनाउनका लागि त्रिभुवन विश्वविद्यालयले ‘Student Portal Manual’ पनि सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार अनलाइन प्रणालीमार्फत सेवाग्राहीहरूले घरबाटै आवेदन दिने, शुल्क तिर्ने र आवश्यक प्रक्रियाहरू पुरा गर्न सक्ने भएकाले अब कार्यालयमा भीड कम हुने अपेक्षा गरिएको छ।