विमानस्थलमा यात्रु दुर्व्यवहार प्रकरण: तीन प्रहरी जिम्मेवारीमुक्त, छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका यात्रु सञ्जय ओझामाथि दुर्व्यवहार गरेका तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

विमानस्थलमा कार्यरत ती तीन जनालाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा झिकिएको एसएसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार, दुर्व्यवहारको आरोप लागेका प्रहरीमाथि छानबिन र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

उक्त घटना आइतबार बिहान करिब ११ बजेतिर भएको हो। युएईबाट फर्किएका मोरङका ओझा आफन्तको पर्खाइमा विमानस्थलको आगमन क्षेत्रमा बसिरहेका बेला एक युवकले उनलाई ट्याक्सीबारे सोधेका थिए। त्यसक्रममा प्रहरीसँग विवाद चर्किएपछि ओझालाई लछारपछार पार्दै आगमन कक्षभित्र लगिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा प्रहरीले उनलाई हिर्काएको दृश्य समेत देखिएको छ।

घटनापछि सार्वजनिक चासो बढेपछि प्रहरी प्रशासनले तत्काल छानबिन थालेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका कारण प्रहरीमाथि तीव्र आलोचना भइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज