जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले अडियो विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बुधबार १८औं सुनुवाइमा न्यायाधीश नरिश्वर भण्डारी र जगदीश घिमिरेको इजलासले नेपाल प्रहरीका अडियो विश्लेषक प्रहरी नायव निरीक्षक आनन्द निरौलालाई वकपत्रका लागि झिकाउने आदेश दिएको हो।
यसअघि अडियो विशेषज्ञ दक्षेपी शेर्पाले अदालतमा बयान दिइसकेका छन् भने निरौला कोरिया तालिममा रहेको कारण उनकाे बयान हुन सकेको थिएन। उच्च अदालतले अडियो परीक्षण प्रतिवेदनलाई अझ प्रष्ट पार्न थप सोधपुछ गर्न उनीहरूलाई झिकाउने निर्णय गरेको हो।
थमन विकको हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वरका पूर्व मेयर रामशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित चार जनाले जिल्ला अदालत महोत्तरीको फैसलाविरुद्ध पुनरावेदन गरेका छन्। शर्माको तर्फबाट उनका बुबा महेन्द्र शर्मा, मिश्रको तर्फबाट श्रीमती संगीता शर्मा, पाण्डेको तर्फबाट छोरी प्रियंका पाण्डे र रायको तर्फबाट दाइ अरविन्द रायले पुनरावेदन दर्ता गरेका हुन्।
२०७२ साल भदौ २५ गते दोस्रो मधेस आन्दोलनको क्रममा महोत्तरीमा एम्बुलेन्सबाट थुतेर असई विकको हत्या गरिएको थियो। घटनापछि २०७२ फागुन २७ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो।
२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिँदै अभिराम शर्मा, प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि २०८१ वैशाख १८ गते प्रदेश सभाले सांसद शर्मालाई निलम्बन गरेको थियो।
पुनरावेदनपछि अदालतमा पटक–पटक पेशी तोकिए पनि सुनुवाइ नपुगेका कारण मुद्धा लम्बिँदै आएको छ। अदालतले सबै मुद्धालाई एकैसाथ अगाडि बढाउने आदेश दिएको छ।