काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयसीमा भित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालहरू नेपालमा प्रतिबन्धित हुने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन र नियम पालना गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार, सरकारले सामाजिक सञ्जाल दर्ताका लागि थप गरेको एक महिनाको समय अब केही दिनमै सकिँदैछ। तर, सो म्याद सकिन लाग्दा समेत फेसबुक लगायतका प्रमुख सञ्जालहरू अझै दर्ता प्रक्रियामा नआएको उनले जनाएका छन्।
“सामाजिक सञ्जालहरूलाई बन्द गर्न होइन, नियमन गर्न सरकार अग्रसर भएको हो,” मन्त्री गुरुङले भने, “नेपालको कानुन मानेर दर्ता नभए प्रतिवन्ध अपरिहार्य हुन्छ।”
सरकारले सामाजिक सञ्जाल नियमनका लागि नीति र कानुनी आधार तयार पार्दै आएको छ, जसअनुसार नेपालमा सेवा दिने सबै डिजिटल प्लेटफर्महरूले अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।